विराटनगरमा तन्नाले बेरिएको महिलाको शव फेला, हत्या आशंकामा श्रीमान् पक्राउ

२०८२ चैत्र ११, बुधबार १०:५९

चैत्र ११ ।विराटनगरमा एक महिलाको शव शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान तीव्र बनाएको छ। विराटनगर महानगरपालिका–१७ स्थित एक कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा मंगलबार साँझ शव फेला परेको हो।

प्रहरीका अनुसार उक्त शव विराटनगर–१५ निवासी कोमलकुमारी साहको रहेको पुष्टि भएको छ। उनी केही दिनदेखि सम्पर्कविहीन रहेको बताइएको छ।

मृतकका श्रीमान् रोशन साहले चैत ८ गते पत्नी हराएको भन्दै इलाका प्रहरी कार्यालय रानीमा निवेदन दिएका थिए। तर, अनुसन्धानको क्रममा उनीमाथि नै शंका बढेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार घरायसी विवादका कारण घाँटी थिचेर हत्या गरिएको आशंका गरिएको छ। त्यसपछि शव लुकाउन तन्नामा बेरेर विराटनगर–१७ स्थित छाला फ्याक्ट्री नजिकैको कल्भर्टमुनि फालिएको प्रहरीले जनाएको छ।

शव मृतकको घरबाट करिब ५ किलोमिटर टाढा सडेको र दुर्गन्धित अवस्थामा भेटिएकाले सुरुमा पहिचान गर्न कठिन भएको थियो। स्थानीय बासिन्दाले शव देखेपछि वडाध्यक्षमार्फत प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले शव उद्धार गरी पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?