जनकपुरधाम,४ चैत । मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा.बैधनाथ महतोलाई नहटाउन सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश जारी गरेको छ ।
विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री सतीश कुमार सिंहको उपस्थितिमा सम्पन्न सिनेटको बैठकबाट बहुमतले उपकुलपति डा.महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गरिएको थियो । मधेश कृषि विश्वविद्यालयकी सहकुलपति रहेकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी समेत १३ जनालाई विपक्षी बनाइएको सो रिटमा आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश र कारण देखाउ आदेश जारी गरेको छ ।
मन्त्रालयले ‘कुलपति सिफारिस समिति’को मिति २०८१/११/२६ गतेको निर्णय अनुसार विज्ञापन प्रकाशन गरिएको सूचनामा उल्लेख गरिएको छ । तर सर्वोच्च अदालतले विश्वविद्यालयको उक्त सूचना समेतमा रोक लगाउँदै उपकुलपतिको कामकाज पनि खुल्ला गरेको छ । अदालतले अल्पकालिन आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
भीसी महतो र रजिष्ट्रार ठाकुरलाई हटाउने निर्णय एउटै सिनेटको बैठकबाट भए पनि ठाकुरलाई ढिला गरी पत्राचार गरिएको छ । ठाकुर पनि अदालत जाने तयारी गरेको बुझिएको छ । मधेश प्रदेशमा सिंह मुख्यमन्त्री भएदेखि नै मधेश कृषि विद्यालयको बजेटमा भारी कटौती गरी १० लाख मात्र दिएको, छानविन समिति गठन गरी कामकाजमा रोक लगाएको, विद्यार्थी भर्ना, परीक्षा समेतलाई अवरोध गरी प्राध्यापक र कर्मचारीहरुको तलब, सुविधा समेत रोक्का गरिएको छ ।
प्राध्यापक र कर्मचारीहरुले झण्डै आठ महिनादेखि तलब, सुविधा पाएका छैनन् । विद्यार्थीको प्रवेश परीक्षा रोकिएको छ ।






