गजरियामा मनाइयो सिचाई दिवस, नहर मरम्मतको उद्घाटन

२०८१ चैत्र २५, सोमबार १९:५८

जनकपुरधाम, चैत २५ गते । धनुषाको कंचनवनमा सिचाई दिवस २०८१ मनाइएको छ ।

जिल्लाको लक्ष्मिनिया गाउँपालिका ३ कंचनवन स्थित गजरिया विघी उपभोक्ता सिचाई आयोजनामा मधेश प्रदेश सरकारको उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले किसानहरुको सहभागितामा सो दिवस मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व खानेपानी मन्त्री तथा कांग्रेसका सहसचिव महेन्द्र यादव, प्रदेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव, प्रदेश सभा सदस्य कुमरकान्त झा, मन्त्रालयका सचिव रामकुमार खंग लगायतका प्रमुख नेता र कमर्चारी लगायतका सो क्षेत्रका दर्जनौ किसानहरुको सहभागिता थियो ।

कार्यक्रमको मुख्य आकर्षण नहरको मरम्मत सम्भारको सांकेतिक उद्घाटन थियो, जसमा प्रमुख तथा विशिष्ट अतिथिहरूले कोदालो चलाएर नहरको मर्मत सम्भार कार्यको उद्घाटन गरे ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री महेन्द्र यादवले किसानहरूलाई आवश्यकता अनुसारको सिचाईका लागि योजनाहरू प्रदेश सरकारसँग माग गर्न आग्रह गरे । उनले भने, “बासमति चामलको अन्तर्राष्ट्रिय माग बढिरहेको छ, त्यसैले धनुषा जिल्लालाई बासमति चामलको पकेट क्षेत्र बनाउने दिशामा थप ध्यान दिन आवश्यक छ ।“

कार्यक्रमका विशिष्ट अतिथि, प्रदेश सरकारका मन्त्री शेष नारायण यादवले मधेश प्रदेश कृषि क्षेत्र रहेकाले प्रदेश सरकारले सिचाईतर्फ बढी ध्यान केन्द्रित राखेको बताए । उनले प्रदेश सरकारको बजेटले भ्याउन नसक्ने अवस्था रहेपनि सकेसम्म सिचाईको क्षेत्रमा स साना आयोजना संचालन र मरम्मत सम्भारको कार्य गर्दै आइरहेको बताए ।

साथै उनले पानीको महत्त्व बुझेर त्यसको बचत गर्न किसानहरुलाई आग्रह समेत गरे । उनले भने, “पानीको सतह तल झर्दै गएको छ, त्यसैले पानीको संरक्षण र सम्भारका लागि स–साना ड्याम र नहरको मर्मत कार्यमा किसानहरूले सक्रियता देखाउनुपर्छ ।“ उनले सरकारको विभेद नीति कारण मधेश क्षेत्रका सिचाई आयोजनाहरूमा गम्भीर असर परेको र यसमा सुधार ल्याउन प्रदेश सरकारको प्रयास जारी रहेको जानकारी दिए ।

मन्त्री यादवले सो सिचाई आयोजनाको मरम्मत सम्भार कार्य यसै सातादेखि शुरु गराउने प्रतिबद्धता जनाउंदै दूधमति नदी उकास तथा विकास परियोजना सफल भए यस क्षेत्रमा हजारौ किसानहरुलाई सिचाईको समस्या समाधान हुने बताए ।

गजरिया विघी उपभोक्ता सिचाई आयोजनाका अध्यक्ष जितेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा, मन्त्रालयका सचिव रामकुमार खंग र प्रदेश सभा सदस्य कुमरकान्त झाले सिचाई क्षेत्रमा भएका समस्या र प्रदेश सरकारले गर्दै समाधान बारे कुरा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?