काठमाडौं, भक्तपुर र ललितपुरमा हावाहुरी र चट्याङसहित वर्षा

२०८१ चैत्र २८, बिहीबार १२:३३

काठमाडौं,२८ चैत । बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएको हो ।

महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही ठाउँमा भारी वर्षा भइरहेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा हावाहुरी र चट्याङसहित वर्षा भएको हो ।

यसैगरी, कोशी प्रदेशको झापा, सुनसरी, सोलुखुम्बु क्षेत्रमा वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको लमजुङ क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । महाशाखाका अनुसार केही समय रोकिए पनि बिहीबार दिनभर र शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको जानकारी छ ।

बुधबारसमेत काठमाडौं उपत्यकाका केही स्थानमा वर्षा भएको थियो । यो वर्ष सात महिनापछि उपत्यकामा वर्षा भएको हो ।

महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

हावाहुरी र वर्षा भएसँगै काठमाडौं उपत्यकाको प्रदूषण घट्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?