कक्षा १२ को परीक्षा आजदेखि शुरु, पाँच लाख ११ हजार परीक्षार्थी

२०८२ बैशाख २१, आईतवार १२:०७

भक्तपुर,२१ बैशाख। यसअघि रोकिएको कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ परिक्षा शुरु भएको जनाएको छ ।

परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म हुनेछ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले जापानमा एकसहित एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । बोर्डका अनुुसार सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको छ।

परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, खटाइएको छ । त्यसैगरी करिव २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुदैछन् ।

यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?