सल्हेश फूलबारी संरक्षणको ११ बुँदे मागसहित मुख्यमन्त्रीलाई ज्ञापन : सरकार गम्भीर नभए सशक्त आन्दोलनको चेतावनी

२०८२ बैशाख २८, आईतवार १५:१०

जनकपुरधाम, २८ बैशाख । मधेसको संस्कृति, परम्परा र धार्मिक आस्थाको महत्वपूर्ण केन्द्र मानिने सल्हेश फूलबारीको संरक्षणका लागि सल्हेश फूलबारी संरक्षण संघर्ष समिति, मधेस प्रदेशले मुख्यमन्त्री तथा वन मन्त्रीलाई ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।

सिरहा नगरपालिका–१२ र २२ मा अवस्थित सल्हेश फूलबारी ऐतिहासिक, पुरातात्त्विक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। संघर्ष समितिले उक्त क्षेत्रको मूल स्वरूप संरक्षण गर्दै डा. अम्बेडकर पार्क निर्माणका लागि गरिएको स्थल स्थानान्तरण तत्काल रोक्न माग गरेको छ।

ज्ञापनपत्रमा सल्हेश फूलबारी, सल्हेश अखडा, मानिक दह, पोखरिया दह लगायतका संरचनाको ऐतिहासिकता कायम राख्दै पुनः निर्माण गर्नुपर्ने माग गरिएको छ। साथै, यस क्षेत्रलाई स्पष्ट नक्सासहित संरक्षित क्षेत्र घोषणा गरी मधेस प्रदेशको गौरवको रूपमा विकास गर्नुपर्ने, सल्हेशसम्बन्धी अध्ययनलाई विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने उल्लेख छ।

समितिले सल्हेश जयन्तीलाई माघ १ गते सार्वजनिक बिदा घोषणा गर्न र लोकनायक राजा सल्हेशलाई राष्ट्रिय विभूति घोषणा गर्नसमेत माग गरेको छ। साथै, सल्हेश क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गरिनुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

संघर्ष समितिका संयोजक मोहन पासवानले मागहरू पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिँदै भने, “सरकारले बेलैमा गम्भीरतापूर्वक ध्यान नदिए आन्दोलन गर्ने बाध्यता आउनेछ, यसको सम्पूर्ण जिम्मेवारी सरकारकै हुनेछ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?