महोत्तरी,०४ जेष्ठ । दलित समाज उत्थान समिती नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित protection & community engagement sponsorship program (PCESP) कार्यक्रम अन्तर्गत तीन दिने भित्ते पत्रीका तालिम शनिबार सम्पन्न भएको छ। तालिममा सम्सी गाउँपालिकाका २२ र एकडरा गाउँपालिकाका २० जना बालबालिका सहभागी भएका थिए।
कार्यक्रमको उद्देश्य बालबालिकालाई भित्ते पत्रीका सम्बन्धी ज्ञान, पत्रकारीताको आधारभूत सिद्धान्त तथा अभिव्यक्तिको कला सिकाउनु थियो। तालिम प्रशिक्षक रिचा पाण्डे र कुमार पंकजले बालबालिकालाई भित्ते पत्रीका के हो, यसको महत्त्व र आवश्यकता के हो? लगायतका विषयमा प्रशिक्षण दिएका थिए।
तीन दिनसम्म चलेको तालिममा सहभागी प्रत्येक बालबालिकाले आफ्ना रचनात्मक विचार र सिर्जनात्मक क्षमता प्रस्तुत गर्दै भित्ते पत्रीका तयार गरेका थिए।
तालिमको समापन सत्र पुनित कुमार चौधरीको संयोजकत्वमा सम्पन्न भयो। कार्यक्रममा अतिथिका रूपमा वर्ल्ड भिजनका हरि प्रसाद उपाध्य, दलित समाज उत्थान समितीका सामाजिक परिचालक माघवेन्द्र प्रसाद ठाकुर र अन्य कर्मचारीको उपस्थिति रहेको थियो।
समापन समारोहमा चौधरीले सहभागी बालबालिकालाई उज्ज्वल भविष्यको शुभकामना दिँदै यस किसिमका सीपहरू भविष्यमा आम्दानीको स्रोत बन्न सक्ने विश्वास व्यक्त गरे।








