महोत्तरीमा गुणस्तरीय र समावेशी शिक्षाका लागि दुई दिने अभिमुखिकरण सम्पन्न

२०८२ जेष्ठ ५, सोमबार १७:०३

महोत्तरी,०५ जेठ ।  युरोपियन युनियनको आर्थिक सहयोगमा तथा सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको साझेदारीमा सञ्चालित ‘गुणस्तरीय शिक्षा: कोही पनि पछि नपरोस्’ आयोजना अन्तर्गत दुई दिने अभिमुखिकरण कार्यक्रम आज समापन भएको छ।

सञ्चालन क्रियाकलाप रहित तथा सुरक्षित नमूना विद्यालय निर्माणका लागि आयोजित उक्त कार्यक्रम मटिहानी नगरपालिका र सम्सी गाउँपालिकाका तीन–तीन वटा सामुदायिक विद्यालयहरूमार्फत सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक तथा अभिभावक संघका अध्यक्षहरूको सक्रिय सहभागिता रहेको थियो।

दुई दिनसम्म चलेको अभिमुखिकरण कार्यक्रममा समावेशी शिक्षा, विद्यालय भर्ना दरमा वृद्धि, बीचमै विद्यालय छाड्ने बालबालिकाको संख्या घटाउने उपाय, शिक्षा प्रणालीमा समता र समानताको प्रवर्द्धन, तथा अशक्त अपांग बालबालिकाको पहुँच विस्तार सम्बन्धी महत्वपूर्ण विषयहरूमा जानकारी तथा छलफल गरिएको थियो।

सेभ द सप्तरी, जलेश्वर शाखाकी संयोजक मोनिका मिश्रले कार्यक्रमको समापन गरेकी थिइन्। समापन समारोहमा मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्देश्वर शर्माको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमका शिक्षा अधिकृत प्रमोद कुमार महतोका अनुसार यस्तो अभिमुखिकरणले विद्यालय व्यवस्थापनमा सुधार ल्याउने र बालमैत्री तथा समावेशी शिक्षाको प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?