राजर्षि जनक विश्वविद्यालयको परीक्षा प्रणाली मर्यादित र पारदर्शी: १३५८ विद्यार्थी सहभागी

२०८२ जेष्ठ ५, सोमबार २१:०२

जनकपुरधाम,०५ जेठ । राजर्षि जनक विश्वविद्यालय संघीय सरकारको पूर्ण लगानीमा बि.सं. २०७४ साल असोज १२ गते स्थापना भएको हो। विश्वविद्यालयले आफ्ना आङिक तथा सम्बन्ध प्राप्त कलेजमार्फत नेपालभर स्नातक तहको प्रथम वर्ष / प्रथम सेमेस्टरको परीक्षा यही २५ गतेदेखि सञ्चालनमा ल्याएको छ।

देशभर विश्वविद्यालयका विभिन्न परीक्षा केन्द्रहरूमा मर्यादित, व्यवस्थित र आचारसंहितापूर्ण ढंगले परीक्षा सञ्चालन भइरहेको छ। अन्य विश्वविद्यालयहरूमा परीक्षा प्रणालीको विश्वसनीयता प्रति प्रश्न उठिरहेको बेलामा राजर्षि जनक विश्वविद्यालयले भने कुनै कञ्जुस्याइँ नगरी परीक्षालाई अनुशासित ढंगले अघि बढाएको छ।

मिर्चैयास्थित प्रनिता कलेज (सगरमाथा बोर्डिङ स्कुलको प्राङ्गण) मा चारवटा सम्बन्धन प्राप्त कलेजहरूको परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भइरहेको छ। विश्वविद्यालयले परीक्षा पर्यवेक्षकको रूपमा व्यवस्थापन संकायका प्राध्यापक सम्भु पोखरेललाई खटाएको छ।

यस वर्ष नेपालभर १३५८ विद्यार्थी अन्तिम परीक्षामा सहभागी भएका छन् भने १४ वटा परीक्षा केन्द्रहरू कायम गरिएको छ। केन्द्र निर्धारण गर्दा ‘होम सेन्टर’ नदिने तटस्थताको सिद्धान्त अवलम्बन गरिएको छ। पोखरेलका अनुसार सम्बन्ध प्राप्त कलेजबाट परीक्षा केन्द्र सारेर परीक्षा कार्यक्रम सञ्चालन गरिएको छैन, बरु विद्यार्थीलाई सहज र पायक पर्ने केन्द्र छनोट गरिएको हो।

विशेषतः मधेस क्षेत्रमा सर्टिफिकेट सजिलै पाइन्छ भन्ने आम गुनासो तथा केही हदसम्मको वास्तविकतालाई राजर्षि जनक विश्वविद्यालयले तोड्ने प्रयास गरेको देखिन्छ। परीक्षामा सहभागी हुन न्यूनतम ७०% उपस्थिति अनिवार्य गरिएको छ। साथै, क्याम्पसद्वारा सञ्चालन गरिने आन्तरिक परीक्षामा समेत विद्यार्थीको अनिवार्य सहभागिता आवश्यक हुन्छ।

यसरी विश्वविद्यालयले गुणस्तरीय, अनुशासित र पारदर्शी परीक्षा प्रणाली मार्फत उच्च शिक्षाको विश्वास र स्तर वृद्धिमा योगदान दिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?