जनकपुरधाम जेष्ठ ८ — आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका धनुषा लक्ष्मिनीयाँ गाउँपालिका–५ बनिनियाँ निवासी ४० वर्षीय हरिराम यादवलाई प्रहरीले बिहीबार जनकनन्दिनी गाउँपालिका–४ खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरेको छ।
चैत १७ गते दिउँसो करिब १ बजे, हरिरामले २५ वर्षीया श्रीमती अञ्जली यादवको कुटपिट गरी हत्या गरेका थिए। त्यसपछि उनले घरमै कुल देवताको पूजा स्थलमा खाल्डो खनेर शव गाडेका थिए। घटनालाई ढाकछोप गर्न उनले त्यस स्थानमा ढलान समेत गरेका थिए।
घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले यादवको घरमा ताल्चा फोडी खोजतलास गरेको थियो। खोजतलासका क्रममा नयाँ ढलान गरिएको भाग खनेर हेर्दा करिब दुई फिट गहिराइमा अञ्जलीको शव भेटिएको थियो।
प्रहरी उपरीक्षक नरहरी रेग्मीका अनुसार भारतमा मजदुरी गर्दै आएका हरिराम र अञ्जलीबीच लामो समयदेखि मनमुटाव र झगडा चलिरहेको थियो। हत्यापछि उनले १० महिनाको छोरीलाई लिएर फरार भएका थिए।
हाल हरिराम पक्राउ परेपनि उनकी छोरीको अवस्थाबारे कुनै जानकारी नखुलेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।






