जनकपुरधाम,१२ जेठ । जनकपुरधाम उपमहानगरपालिका-२२ स्थित श्री माध्यमिक विद्यालय बसबिट्टीमा आईतबार एक भव्य प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथिको रूपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह तथा कार्यक्रम अध्यक्षको रूपमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री श्याम प्रसाद यादवको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा करिब ५०० जना विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षा प्रेमी, वडा कार्यालयका प्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख आकर्षणहरूमध्ये, मेयर साहले विद्यालय व्यवस्थापन समितिका सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै शैक्षिक सत्र २०८२ का लागि तयार पारिएको वार्षिक कार्य योजना तथा तालिका सार्वजनिक गर्नु भयो।
शिक्षा शाखा अधिकृत अन्जु पाण्डेले शैक्षिक सुझावहरू प्रस्तुत गर्दा विद्यालयका निमित्त प्रधानाध्यापक आशाराम साहले वैशाख १९ गतेदेखि जेष्ठ १० गतेसम्मको कार्य प्रगति प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रमहरू प्रस्तुत गरे।
कार्यक्रमको उद्घोषणा शिक्षक सुदिप मण्डलले गर्नु भएको थियो भने, वडा नं. २२ का अध्यक्ष श्री बिमलेश मिश्रा, शिक्षा अधिकृत अन्जु पाण्डे, निमित्त प्रधानाध्यापक आशाराम साह, राजेन्द्र पञ्जियार, नगर शिक्षक संघ अध्यक्ष तथा उपमहानगरपालिकाका अन्य प्रतिनिधिहरूलाई दोसल्ला तथा खादा ओढाई सम्मान समेत गरेको थियो।







