पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमण सकेर स्वदेश फिर्ता,

२०८२ जेष्ठ १९, सोमबार १४:४५

काठमाडौं १९ जेष्ठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किनुभएको छ।

उहाँ सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश आइपुग्नुभएको हो। जेठ १० गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ चीन प्रस्थान गर्नुभएको थियो।

भ्रमणमा पूर्वराष्ट्रपति भण्डारीसँगै नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारीलगायतका प्रतिनिधिहरू सहभागी थिए। भ्रमण सफल र उपलब्धिमूलक रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जानकारी दिनुभयो।

भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओसहित उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो।

मन्त्री भण्डारीका अनुसार भेटवार्तामा द्विपक्षीय सहयोग, सांस्कृतिक सम्बन्ध, आर्थिक कूटनीति लगायत विषयमा गहन छलफल भएको थियो। साथै विगतमा भएका समझदारी र सम्झौताहरू कार्यान्वयनमा ल्याउने विषयमा समेत दुवै पक्षबीच प्रतिबद्धता व्यक्त भएको जानकारी उहाँले दिनुभयो।

पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा प्राप्त सम्मान र सम्बोधनले नेपालमा वामपन्थी शक्ति एकता तथा राजनीतिक नेतृत्वको स्वीकार्यतालाई चीनले सकारात्मक रूपमा लिएको संकेत विश्लेषकहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?