काठमाडौं १९ जेष्ठ। प्रधानमन्त्री केपी शर्मा ओली आज सत्तारुढ र विपक्षी दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्न लागेका छन्।
प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा भेट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
भेटको मूल एजेन्डा संसदमा जारी अवरोध हटाउने विषयमा केन्द्रित हुने बताइएको छ। केही दिनअघि मात्रै प्रधानमन्त्री ओलीले संसद अवरुद्ध भइरहँदा आफूले प्रचण्डसँग संवाद गर्न खोज्दा उनले वास्ता नगरेको टिप्पणी गरेका थिए। आजको भेटवार्तामा ती अभिव्यक्तिहरूको प्रभाव पनि परे–नपरेको राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।






