सिक्किममा भीषण पहिरो: तीन सैनिकको मृत्यु, छ जना बेपत्ता

२०८२ जेष्ठ १९, सोमबार १७:१८

१९ जेष्ठ -उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको पहिरोमा परी तीन सैनिकको मृत्यु भएको छ भने अन्य छ जना बेपत्ता छन् भनेर भारतीय सेनाले सोमबार जानकारी दिएको छ।

मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोबाट भारतको उत्तरपूर्वी राज्यहरूमा पछिल्लो एक साताभित्र कम्तीमा ३० जनाले ज्यान गुमाएका छन्।

नेपाल र चीनसँग सिमाना जोडिएको हिमाली राज्य सिक्किममा आइतबार साँझ गएको पहिरोमा ती सैनिकहरूको मृत्यु भएको हो।

सेनाले विज्ञप्ति जारी गर्दै भारी वर्षापछि ठूलो पहिरो खस्दा सेनाको क्याम्पमा क्षति पुगेको उल्लेख गरेको छ।

सामाजिक सञ्जालमा सेनाले सार्वजनिक गरेको तस्बिरमा एक भवन अर्धजलमग्न अवस्थामा देखिएको छ।

भारतमा मनसुनको समयमा आकस्मिक बाढी र पहिरो सामान्य घटना मानिन्छ। मनसुन सामान्यतः जुन महिनाबाट सुरु भएर सेप्टेम्बरसम्म सक्रिय रहन्छ।
गर्मी तीव्र हुँदै गएकाले दक्षिण एसियामा हालका वर्षहरूमा मौसमको स्वरूपमा पनि परिवर्तन देखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?