चितवनमा एक युवाले मानवता र सेवा भावको अद्भुत उदाहरण प्रस्तुत गरेका छन्।

२०८२ जेष्ठ २१, बुधबार १४:४३

जनकपुरधाम जेष्ट २१ –पर्सा जिल्लाको ठोरी गाउँपालिका–१ का स्थायी बासिन्दा २६ वर्षीय आकाश अर्याल भरतपुरमा विगत चार वर्षदेखि अटो चलाउँदै आएका छन्। तर, उनी केवल अटोचालक मात्र होइनन्—उनी आशाका सन्देशवाहक पनि हुन्।

 

आकाशले बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म क्यान्सरका बिरामी र उनीहरूका आफन्तलाई निःशुल्क सेवा दिँदै आएका छन्। खासगरी पश्चिम नेपालबाट रातभरको यात्रा गरेर आएका बिरामीहरूका लागि यो सेवा वरदान बनेको छ।

 

अटोमा चढ्ने बिरामीहरूसँग उनले अनेक पीडाका कथाहरू सुने। कसैले सम्पत्ति बेचेर उपचार गरिरहेका थिए, कोहीसँग औषधिका लागि पैसासमेत थिएन, कतिपय त खान बस्नैको अभावमा पीडित देखिन्थे। आकाश भन्छन्, ‘जब मेरो सानो सहयोगले कसैको पीडामा केही मलम लाग्न सक्छ भने किन नगर्ने भन्ने लाग्यो।’ यही सोचले उनले गएको मातातीर्थ औँसीदेखि यो सेवा सुरु गरेका हुन्।

 

उनले बिहानको समय यसकारण रोजे, किनभने त्यही बेला धेरै बिरामी अस्पतालमा टोकन लिन पुग्ने गर्छन्। आकाशको निःस्वार्थ सेवाले आज पनि मानवीय संवेदनशीलता अझै बाँकी छ भन्ने सन्देश दिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?