मुम्बई, जेष्ठ २६ — बलिउड सुपरस्टार अक्षय कुमारको फिल्म हाउसफुल ५ ले रिलिजको दुई दिनमै भारतीय बक्स अफिसमा ५६ करोड भारु कमाई गरेको छ।
निर्माताका अनुसार फिल्मले पहिलो दिन (शुक्रबार) २४.३५ करोड र दोस्रो दिन (शनिबार) ३२.३८ करोड भारु कमाउँदै शानदार सुरुआत गरेको हो।
फिल्मलाई दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको छ। हास्य र मनोरञ्जनले भरिएको फिल्मले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उल्लेखनीय उपस्थिति दर्ज गराएको छ।
दर्शकको प्रतिकृया बुझ्न अभिनेता अक्षय कुमार आफैं हल बाहिर निस्किए। फिल्ममा आफूले निभाएको पात्रको विशेष मास्क लगाएर उनी दर्शकमाझ पुगेका थिए। मास्क लगाएका कारण दर्शकले सुरुमा उनलाई चिनेका थिएनन्। उनी केहीबेर हलबाहिर उभिएर दर्शकहरूसँग फिल्मबारे प्रतिक्रिया संकलन गर्दै देखिए।
हाउसफुल सिरिजको पाँचौं संस्करणको रूपमा आएको यस फिल्मले मनोरञ्जन र व्यवसाय दुबै क्षेत्रमा उल्लेखनीय सफलता हात पार्दैछ।






