ADVERTISEMENT

मधेश फुड फोरम सम्पन्न, कृषि मैत्री प्रदेश बनाउने प्रतिबद्धता

२०८२ जेष्ठ ३१, शनिबार १३:१८

बर्दिबास, महोत्तरी । कृषि विज्ञ, लगानीकर्ता र सरकारी अधिकारीबीचको उच्चस्तरीय अन्तरक्रिया कार्यक्रम मधेश फुड फोरम मंगलबार महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ। दुइदिने कार्यक्रममा मधेश प्रदेशको कृषि क्षेत्रको सम्भावना, लगानीको अवसर र प्रविधि हस्तान्तरणका विषयमा गहन छलफल भयो ।

सोमबार कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीले मधेशको कृषि सम्भावना उजागर गर्दै भन्नुभयो, “मधेशको हावामा पनि स्याउ फलाउन सक्छौँ। अब हामीसँग हाइब्रिड बीउ र प्रविधि उपलब्ध छन्। हामीले चाहने हो भने चक्लेटी स्याउसम्म उत्पादन गर्न सक्छौँ।”

त्यस्तै, मन्त्री क्षेत्रीले माछापालन र पशुपालनमा पनि नयाँ प्रबिधि भित्र्याउन सके थप फाइदा लिन सकिने बताउनुभयो।

कार्यक्रम बोल्दै मन्त्री क्षेत्रीले प्रविधिमैत्री कृषि प्रणालीलाई अगाडि बढाउन सके मधेशमा उत्पादन क्षमतामा अभूतपूर्व वृद्धि गर्न सकिने दाबी गर्नुभयो।

कृषि क्षेत्रका विभिन्न समस्याहरुको समाधान, उत्पादन वृद्धि र  प्रविधिमैत्री खेतीको प्रोत्साहनका लागि मधेश प्रदेशले ‘फिड द नेसन’ अभियान ल्याएको मन्त्री क्षेत्रीले जानकारी दिनु भयो।

“मधेश कृषि मैत्री प्रदेश हो। हामीले नीति आयोगका साथीसँग मिलेर फिड द नेसन परियोजना ल्याएका हौँ। यदि यो अभियान सफलतापूर्वक कार्यान्वयन गर्न सक्यौँ भने, मधेशले मात्र होइन, राष्ट्रलाई नै आत्मनिर्भर बनाउन सक्छ,” मन्त्रीले भन्नुभयो।

‘फिड द नेसन’ अभियान मधेश प्रदेश सरकारको एक महत्त्वाकांक्षी पहल हो, जसको उद्देश्य प्रदेशको कृषि उत्पादन क्षमता बढाएर सम्पूर्ण राष्ट्रलाई खाद्य आपूर्तिमा आत्मनिर्भर बनाउनु हो।

यो अभियानले उब्जनीयोग्य भूमिको अधिकतम उपयोग, प्रविधिमैत्री खेती, युवालाई कृषि व्यवसायमा आकर्षण, र निजी क्षेत्रको सहकार्यमार्फत मधेशलाई राष्ट्रिय खाद्य भण्डारको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

मधेश प्रदेश कृषि मन्त्रालयको आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंह प्रमुख अतिथि रहनु भएको थियो। विशिष्ट अतिथिको रूपमा जनकपुरधाम नगरपालिकाका मेयर मनोज साह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मदन भुजेल, उद्योगी अशोक साहसहित विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?