ADVERTISEMENT

बालविवाहमुक्त बन्यो महोत्तरीको पिपरा–५, बालबालिकाको अधिकार संरक्षणमा जोड

२०८३ कार्तिक १, शनिबार १३:१९

महोत्तरी । पिपरा गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। बालविवाह न्यूनीकरणका लागि तीन वर्षदेखि सञ्चालन गरिएका विभिन्न सचेतनामूलक कार्यक्रमपछि स्थानीय समुदायको सहभागितामा वडालाई औपचारिक रूपमा बालविवाहमुक्त घोषणा गरिएको हो।

 

रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको सहकार्यमा वडा कार्यालयद्वारा आयोजित घोषणा सभामा बालविवाहका कारण, यसले बालबालिकाको स्वास्थ्य, शिक्षा तथा भविष्यमा पार्ने दीर्घकालीन असर र रोकथामका उपायबारे छलफल गरिएको थियो। सहभागीहरूले बालविवाहमुक्त वडाको उपलब्धिलाई दिगो बनाउन विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक गतिविधि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

 

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका सभामुख राम अशिष यादवले छोरीलाई सम्मान नगर्ने समाज, प्रदेश र देशको विकास सम्भव नहुने बताउनुभयो। उहाँले समाजमा छोरा र छोरीबीच विभेद कायम रहेको उल्लेख गर्दै छोरालाई प्राथमिकता दिने प्रवृत्तिको अन्त्य गरी छोरीलाई समान अवसर र सम्मान दिनुपर्नेमा जोड दिनुभयो।

 

सभामुख यादवले छोरीको सम्मान र समानतालाई ध्यानमा राख्दै मधेश प्रदेश सरकारले प्रदेश लोकसेवामा महिला र पुरुषलाई समान अवसर प्रदान गर्ने व्यवस्था गरेको बताउनुभयो। यस्तो व्यवस्था संघीय सरकारले समेत नगरेको उहाँको भनाइ थियो। उहाँले छोरा र छोरीबीच विभेद नगरी दुवैलाई समान अवसर प्रदान गर्न सबैलाई आग्रह गर्नुभयो।

 

कार्यक्रममा वक्ताहरूले बालविवाहमुक्त अभियानले वडा नं. ५ का साथै समग्र पालिकाका बालबालिकाको स्वास्थ्य, शिक्षा र सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। बालविवाह अन्त्यका लागि परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।

 

वडा नं. ५ मा कुल ५०६ घरधुरी र ६ हजार ५५५ जनसङ्ख्या रहेको छ। तीमध्ये एक हजार ५०५ बालक र एक हजार ३४९ बालिका छन्। वडामा विद्यालय जाने उमेरका शतप्रतिशत बालबालिका विद्यालय जाने गरेको जनाइएको छ। विगत तीन वर्षदेखि बालविवाह न्यूनीकरणका लागि सञ्चालन गरिएका कार्यक्रमको परिणामस्वरूप वडा बालविवाहमुक्त घोषणा गर्न सफल भएको हो।

 

वडाध्यक्ष हरिशंकरप्रसाद यादवले वडालाई बालविवाहमुक्त घोषणा गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै प्राप्त उपलब्धिलाई दिगो बनाउने प्रतिबद्धता जनाउनुभयो। बालविवाहविरुद्धका अभियानलाई निरन्तरता दिँदै बालबालिकाको अधिकार संरक्षणमा वडा कार्यालय सक्रिय रहने उहाँले बताउनुभयो।

 

कार्यक्रममा बालविवाहलाई कानुनी रूपमा दण्डनीय अपराधका रूपमा उल्लेख गर्दै २० वर्ष उमेर नपुगी गरिने विवाह रोक्न परिवार र समुदायको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइएको थियो। वडाले बालविवाह न्यूनीकरणका लागि विद्यालयस्तरीय निबन्ध, वक्तृत्वकला, चित्रकला, नाटक तथा गीत–सङ्गीत प्रतियोगिता, घरदैलो अभियान र सामुदायिक छलफललाई निरन्तरता दिने जनाएको छ।

 

सभाको अध्यक्षता मधेश प्रदेशका सभामुख रामअशिष यादव तथा वडाध्यक्ष हरिशंकरप्रसाद यादवले गर्नुभएको थियो। कार्यक्रममा पिपरा गाउँपालिका अध्यक्ष रामजानकी यादव, प्रमुख प्रशासकीय अधिकृत राधेश्याम ठाकुर, वडाध्यक्षहरू राजेश कुमार दास, संजीत यादव र अरुण पूर्वे, किशोरी अधिकारी, रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरी तथा सेभ द चिल्ड्रेनका वरिष्ठ परियोजना संयोजक मकरबहादुर सार्की, इलाका प्रहरी कार्यालय सहोरवाका वरिष्ठ प्रहरी सहायक निरीक्षक रामलगन चौरसिया, महिला तथा बालबालिका शाखा प्रमुख रचना झा, स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र यादव, धीरेन्द्र यादव, फिल्ड सुपरभाइजर शम्भु कुमार साह, राजेश पाण्डे, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका विद्यार्थी, अभिभावक, महिला समूह, पत्रकार तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?