जनकपुरधाम :जनकपुर उपमहानगरपालिका–१७ तेतरिया पुलमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शनिवार राति करिब १० बजे पौडेश्वरबाट तेतरियातर्फ आउँदै गरेको ज ११ प ३०५८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००९ प ११५७ नम्बरको मोटरसाइकल तेतरिया पुलमा एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा ज ११ प ३०५८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम–१७ निवासी परशुराम यादवका करिब १८ वर्षीय छोरा सुजित यादवको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही मोटरसाइकलमा सवार स्थानीय २५ वर्षीय बलराम यादवको खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
त्यस्तै, अर्को मोटरसाइकलका चालक कमला नगरपालिका–७ निवासी शिवदयाल यादवका करिब २० वर्षीय छोरा रामपुकार यादवको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको र जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
अर्को मोटरसाइकलमा सवार कमला नगरपालिका–७ निवासी ललित यादवका करिब ३४ वर्षीय छोरा अखलेश यादवको दाहिने खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
अस्पतालको मूल गेटमा ढुङ्गा प्रहार, एक जना नियन्त्रणमा
दुर्घटनामा घाइते सुजित यादवको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तहरू प्रादेशिक अस्पताल जनकपुरमा भेला भएका थिए। उपचारमा ढिलाइ भएको भन्दै आफन्तहरूले विवाद गरेको प्रहरीले जनाएको छ।
सोही क्रममा केही व्यक्तिले अस्पतालको मूल गेटमा ढुङ्गा प्रहार गर्दा अस्पतालको बोर्डमा सामान्य क्षति पुगेको थियो। ढुङ्गा प्रहारमा संलग्न रहेको आरोपमा जनकपुरधाम–१७ निवासी २० वर्षीय गणेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार घटनास्थलमा भेला भएका अन्य व्यक्तिहरूलाई सामान्य बल प्रयोग गरी तितरबितर पारिएको थियो। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।






