ADVERTISEMENT

मधेशको कथा बोकेको चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि देशभर प्रदर्शनमा आउने

२०८३ कार्तिक ३, सोमबार १९:४६

जनकपुरधाम। रोशन दासको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘प्रतिवैरम्’ को प्रचारप्रसारका लागि शनिबार जनकपुरधामस्थित रघुपति होटलमा प्रेस मिट तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चलचित्रको कथावस्तु, हालै सार्वजनिक मैथिली गीत ‘मिता रे’ र चलचित्र चार भाषामा प्रदर्शन गर्ने तयारीबारे जानकारी गराइएको थियो।

कार्यक्रममा चलचित्रका निर्माता सत्यराज चौलागाईं, अर्का निर्माता हर्ष कुमार यादव, कार्यकारी निर्माता विक्की साह, निर्देशक रोशन दास, अभिनेता सम्राट दास, अभिनेता बिरेन्द्र सिंह कुशवाहा तथा साउन्ड डिजाइनर दीपेन्द्र साहलगायतको उपस्थिति थियो। उनीहरूले नेपाली र मैथिली भाषामा पत्रकारहरूसँग संवाद गरेका थिए।

चलचित्रमा मधेशको सामाजिक परिवेश, संस्कृति, पारिवारिक सम्बन्ध, अपराध र बदलाको विषयलाई प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ। मधेशकै मौलिक कथा र परिवेशमा आधारित चलचित्र भएकाले स्थानीय दर्शकको साथ र सहयोग अपेक्षा गरिएको निर्देशक तथा निर्माण टिमले बताएका छन्।

oplus_0

मधेशको विषयवस्तु समेटेर चलचित्र निर्माण गरे पनि अपेक्षाअनुसार स्थानीय क्षेत्रबाट सहयोग र समर्थन नपाएको निर्माण पक्षले गुनासोसमेत गरेको थियो। चलचित्रलाई दर्शकमाझ पुर्‍याउन स्थानीय पत्रकार, सञ्चारकर्मी र सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै निर्माण टिमले सहयोगको अपेक्षा गरेको छ। कार्यक्रममा सहभागी पत्रकारहरूले पनि प्रचारप्रसारमा आफ्नो क्षेत्रबाट सहयोग गर्ने धारणा व्यक्त गरेका थिए।

यसैबीच, चलचित्रको हालै सार्वजनिक मैथिली गीत ‘मिता रे’ बारे पनि जानकारी गराइएको थियो। दाजु–बहिनीबीचको आत्मीय सम्बन्ध, माया र पारिवारिक भावनालाई समेटिएको उक्त गीतले मधेशको पारिवारिक तथा सांस्कृतिक परिवेशलाई उजागर गरेको निर्माण पक्षको भनाइ छ।

चलचित्र ‘प्रतिवैरम्’ नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा प्रदर्शन गर्ने तयारी गरिएको छ। यसबाट मधेशको कथा, संस्कृति र सामाजिक यथार्थलाई फराकिलो दर्शकवर्गसम्म पुर्‍याउन मद्दत पुग्ने अपेक्षा निर्माण पक्षले गरेको छ।

रेज इन्टरटेन्मेन्टको प्रस्तुति तथा विभिन्न निर्माण कम्पनीको सहकार्यमा बनेको चलचित्रको कथा निर्देशक रोशन दासले लेखेका हुन् भने पटकथा तथा संवाद युवराज भट्टराईले तयार पारेका छन्। चलचित्रमा सम्राट दास, बिरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण बिक, आशिष डिके र रमेश बुढाथोकीलगायतका कलाकारहरूको अभिनय रहेको छ।

नेसनल सिनेमा ग्रुप नेपाल (NCGN) ले वितरण गर्ने चलचित्र ‘प्रतिवैरम्’ आगामी मंसिर ४ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ। चार भाषामा प्रदर्शनको तयारीसँगै चलचित्रले मधेशको मौलिक कथा र संस्कृतिलाई राष्ट्रिय तथा फराकिलो दर्शकवर्गमाझ पुर्‍याउने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?