बारा ,जेठ ०८२/०२/३१ -सिम्रौनगढ नगरपालिकाको कार्यालय परिसरमा (शुक्रवार) दिउँसो पुनः एकपटक झडप भएको छ। दिउँसो १२ बजे नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल र प्रशासन शाखा प्रमुख भोजेन्द्र प्रसाद चौधरीबीच कार्यालयभित्रै कुटाकुट भएको हो।
प्रशासन शाखा प्रमुख चौधरीका अनुसार, जयसवाल चार जनाको समूहसहित प्रशासन शाखाको कक्षमा प्रवेश गरी “मेरो हाजिरी किन काटेको?” भन्दै आक्रोशित ढंगले आएर कालर समात्दै कुटपिट गरेका थिए। चौधरीले घटनाको क्रममा आफ्नो दुई तोलाको सुनको सिक्री समेत हराएको दाबी गरेका छन्।
झडपपछि जयसवाल समूह नगर प्रमुख किशोरी प्रसाद कलवारको कार्यकक्ष नजिक पुगी मेयरसँग समेत दुव्र्यवहार गर्न खोजेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। त्यसक्रममा हरिओम प्रसाद जयसवाल त्यहाँबाट भागेका थिए भने उनीसँगै रहेका एक व्यक्ति छुटेर नजिकैको शिव शक्ति औषधि पसलमा लुकेका थिए। इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।






