सिराहा, असार १४ |सिराहा जिल्लाको अर्नमा गाउँपालिका–१ मा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स्थानीय रामसेवक महराका करिब ३० वर्षीय छोरा अजय महरा शनिबार बिहान आफ्नै घरको आँगनमा मृत भेटिएका हुन्।
स्थानीयले कुटपिट गरी घिसारेर हत्या गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। अजयको घाँटीमा लुगा बेरिएको अवस्थामा शव भेटिएकाले घाँटी थिचेर हत्या गरिएको अनुमान गरिएको छ। घटना थाहा पाएपछि ठूलो संख्यामा स्थानीयवासी घटनास्थलमा भेला भएका छन्।
घटनाबारे खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो। प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले अजय महराको शव भेटिएको पुष्टि गर्दै मृत्युको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताए। उनले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको र कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।






