जनमत पार्टीको स्थायी समितिले हालै डा. जयकान्त राउत र दानबहादुर चौधरीलाई पार्टीको राष्ट्रिय उपाध्यक्ष पदमा मनोनीत गरेको निर्णय पार्टीभित्र सर्वत्र प्रशंसा र स्वागतको साथ ग्रहण गरिएको छ। पार्टीभित्र यो निर्णयले नयाँ उत्साह, उमंग र उर्जा थपिएको बताइएको छ।
पार्टी नेतृत्वले गरेको यो क्रान्तिकारी कदमले सम्पूर्ण स्वराजी योद्धा र नेताकार्यकर्तामा सकारात्मक ऊर्जा प्रवाह गराएको जनाइएको छ। तर पार्टी र मधेशको हितविरुद्ध काम गर्दै आएका अनुशासनहीन र अराजक प्रवृत्तिका केही बागी समूहहरुले निर्णयविरुद्ध भ्रमपूर्ण प्रचार गर्न खोजेको भन्दै नेताकार्यकर्तालाई सजग रहन आग्रह गरिएको छ।
पार्टीले स्पष्ट पारेको छ कि डा. जयकान्त राउत सर्वमान्य, आदरणीय र सम्माननीय व्यक्तित्व हुनुहुन्छ जसले आफ्नो जीवन पार्टीको निर्माण र विस्तारमा अर्पण गर्नुभएको छ। कुनै पद नभए पनि वहाँ पार्टीका लागि अभिभावकको भूमिकामा रहँदै आउनुभएको छ। स्वराज अभियानदेखि जनमत पार्टीको स्थापनासम्म वहाँको योगदानलाई “अतुलनीय” भन्दै पार्टीले उहाँप्रति कृतज्ञता व्यक्त गरेको छ।
त्यसैगरी, अर्का उपाध्यक्ष मनोनीत दानबहादुर चौधरी झण्डै पाँच दशक लामो राजनीतिक अनुभव बोकेका नेता हुन्। उहाँको दीर्घ अनुभव र डा. राउतको रणनीतिक कौशलले संगठन थप सबल र सुदृढ हुने विश्वास पार्टीले लिएको छ।
पार्टीले जात, धर्म, लिङ्ग, क्षेत्र वा नातागोता भन्दा माथि उठेर संघर्ष, समर्पण, योग्यता र क्षमतामा आधारित मूल्यांकनमा विश्वास गर्न आह्वान समेत गरेको छ।
जनमत पार्टीले यो नेतृत्व संरचनाले मिसन ८४ सफल पार्न थप योगदान पुर्याउने अपेक्षा व्यक्त गरेको छ।






