काठमाडौँ साउन ०१ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, साउन २ गते बस्ने पोलिटब्युरो बैठक र ५ गतेको केन्द्रीय कमिटी बैठकको तयारी तथा कार्यसूची तय गर्न सचिवालय बैठक आह्वान गरिएको हो।
पार्टीले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने तयारी गरिसकेको छ। सो महाधिवेशनमा राजनीतिक, साङ्गठनिक तथा विधान संशोधनसम्बन्धी प्रस्तावहरू पेश गरिनेछन्। राजनीतिक प्रतिवेदन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल, र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलमार्फत प्रस्तुत गरिनेछ।
यसबीच, एमालेभित्र ७० वर्षे उमेर सीमा र दुई वर्षे कार्यकालसम्बन्धी विषयमा मतभेद गहिरिँदै गएको छ। यही प्रसंगले महाधिवेशनको माहोल थप चासोको विषय बनेको छ।






