पर्सामा लोकतान्त्रिक पत्रकार संघको कार्यालय उद्घाटन, पत्रकार सुरक्षामा जोड

२०८२ श्रावण १, बिहीबार २३:००

पर्सा, साउन १ – लोकतान्त्रिक पत्रकार संघ पर्सा शाखाको कार्यालय आज एक विशेष समारोहबीच औपचारिक रुपमा उद्घाटन गरिएको छ। संघका जिल्ला संयोजक समसुदिन मियाँको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मधेस प्रदेशका पूर्व वनमन्त्री रमेश कुर्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो भने उद्योगपति डा. सुबोध प्रसाद गुप्ता विशिष्ट अतिथि रहनु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रमेश कुर्मीले पत्रकारिता लोकतन्त्रको संवाहक भएकाले पत्रकारहरूको सुरक्षामा राज्य गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले संघलाई आवश्यक परेको बेला सधैं साथ र सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि जनाउनुभयो।

त्यसैगरी, उद्घाटन सत्रमा लोकतान्त्रिक मुस्लिम संघका केन्द्रीय अध्यक्ष डा. कमरुल्ला अन्सारी, लोसपा नेपालका केन्द्रीय उपाध्यक्ष श्याम प्रसाद गुप्ता, उद्योगपति डा. सुबोध गुप्ता लगायत वक्ताहरूले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै समाज रूपान्तरणमा पत्रकारहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन जोड दिएका थिए।

कार्यक्रममा पर्सा जिल्लाभरिका विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले संघमार्फत व्यवस्थित र उत्तरदायी पत्रकारिता गर्न प्रतिबद्धता जनाएका छन्।

संघको यो कार्यालय स्थापना पर्सामा पहिलोपटक औपचारिक रूपमा गरिएको संस्थागत थालनी हो। हालसम्म अन्य जिल्लाहरूमा कार्यालय सञ्चालनमा नरहे पनि पर्साबाट सुरु भएको यो अभियानलाई संघले अन्य जिल्लामा पनि विस्तार गर्ने लक्ष्य राखेको छ।

संघका अनुसार हाल मधेस प्रदेशका ८ वटै जिल्लामा संयोजक तोकिएको छ भने बाँकी जिल्लाहरूमा पनि क्रमशः नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको छ।

लोकतान्त्रिक पत्रकार संघको नेतृत्व हाल केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले गरिरहनुभएको छ। उहाँको नेतृत्वमा संघले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको संरक्षणमा सक्रिय भूमिका खेलिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?