जनकपुरधाम, साउन ६ – महोत्तरीको महोत्तरी गाउँपालिका-१, पर्सा टोलका ३२ वर्षीय बिमलेश यादवको हत्या प्रकरणमा पक्राउ परेकी २१ वर्षीया जुली झाले प्रहरी समक्ष दिएको सनसनीपूर्ण बयानले सबैलाई चकित पारेको छ। जुलीले बिमलेशको ब्ल्याकमेलिङ र चरित्रहत्याको शिकार भएपछि हत्याको ‘अन्तिम विकल्प’ रोजेको बताएकी छन्।
‘कि आत्महत्या गर्थेँ, कि मार्नुपर्थ्यो’
महोत्तरीकै बनौटा घर भएकी जुली झालाई बिमलेशको हत्या आरोपमा पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा जुलीले प्रहरीलाई भनेकी छन्, “मसँग दुई वटा विकल्प बाँकी थियो; पहिलो- कि मैले आत्महत्या गर्नुपर्थ्यो, दोस्रो भनेको कि उसलाई मार्नुपर्थ्यो, मैले दोस्रो विकल्प रोजेँ।”
उनको यो बयान सुनेर अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु समेत चकित परेका थिए।
शारीरिक सम्बन्धको भिडियो र ब्ल्याकमेलिङ
जुलीका अनुसार उनीहरुबीच तीन वर्षअघि शारीरिक सम्बन्ध स्थापित भएको थियो। तर, बिमलेशले त्यो सम्बन्धको फोटो र भिडियो बनाएर जुलीलाई पटक-पटक ब्ल्याकमेलिङ गर्दै आएका थिए।
जुलीले बिमलेशमाथि फेसबुकमा फेक आईडी बनाएर परिवार र साथीहरुलाई समेत ती फोटो र भिडियो पठाएर आफ्नो चरित्रहत्या गरेको आरोप लगाएकी छन्।
जुलीले प्रहरी बयानमा भनेकी छन्, “पहिला हामी फेसबुकबाटै एकअर्कासँग नजिक भएका थियौं, सहमतिमै शारीरिक सम्बन्ध भएको। बिमलेशले हाम्रो सम्बन्धको फोटो र भिडियो खिचेको रहेछ, पछि मलाई त्यही देखाएर पटक-पटक शारीरिक सम्बन्ध राख्न बाध्य पार्यो।”
- घटनाको दिन: गेष्ट हाउसमा रक्सी र चक्कु प्रहार
जुली धनुषामा बसेर स्नातक पढ्दै थिइन् भने बिमलेश पनि महोत्तरीबाट जुलीसँग भेट्न धनुषा आउने गर्दथे। गत साउन ३ गते पनि बिमलेशले जुलीलाई गेष्ट हाउसमा बोलाएका थिए।
राति गेष्ट हाउसमा बिमलेशले अत्यधिक मदिरा सेवन गरेको मौका छोपी जुलीले होटलको तरकारी काट्ने चक्कुले प्रहार गरेको बयान दिएकी छिन्। चक्कु प्रहारपछि बिमलेश छट्पटिँदै गेष्ट हाउसको एक तलामाथिबाट खसेका थिए।
प्रहरी चौकी जिरोमाइलबाट पुगेको प्रहरी टोलीले बिमलेशलाई नग्न र रगताम्य अवस्थामा भुइँमा छट्पटाइरहेको फेला पारेको थियो। तत्कालै प्रादेशिक अस्पताल जनकपुर पुर्याइएका बिमलेशको साउन ४ गते बिहान ७:४५ बजे उपचारका क्रममा मृत्यु भएको थियो।
सीसीटीभी फुटेजले खोल्यो रहस्य
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार अनुसन्धानका क्रममा गेष्ट हाउसको सीसीटीभी फुटेज महत्वपूर्ण सावित भएको छ। फुटेज अनुसार, साउन ३ गते राति ९:५० बजे बिमलेश र जुली बा ४५ प ४५८६ नम्बरको मोटरसाइकल चढेर गेष्ट हाउस छिरेका थिए। बिमलेशले होटलमा आफ्नो नाम ‘शनि यादव’ भनेर लेखाएका थिए।
एसपी रेग्मीका अनुसार, साउन ४ गते बिहान २:५७ बजे बिमलेश नग्न अवस्थामा होटलको पहिलो तलाबाट रगताम्य भई भुइँमा खसेको सीसीटीभीमा देखिन्छ। बिमलेश भुइँमा बजारिएपछि जुली बिहान ३:०४ बजे खाली खुट्टा भाग्दै गरेको दृश्य समेत सीसीटीभीमा कैद भएको छ।
पक्राउ र थप अनुसन्धान
घर पुगेकी जुलीलाई प्रहरीले साउन ४ गते मध्यान्ह १२ बजे महोत्तरीकै परौल भन्ने ठाउँबाट नियन्त्रणमा लिएको थियो।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार मृतक बिमलेश सशस्त्र प्रहरीका भगौडा हुन् र उनी वैदेशिक रोजगारीमा केही वर्ष बसेर घर आएका थिए।
एसपी रेग्मीका अनुसार, बिमलेशको परिवारसँग बुझ्ने काम भइरहेको छ र फोन संवाद हेर्दा बिमलेश र जुलीबीच लामो समयदेखि सम्पर्क रहेको देखिन्छ।
हाल, जुलीले आफू डिप्रेसनमा गइसकेको र बिमलेशले पटक-पटक ब्ल्याकमेलिङ गरेर शारीरिक सम्पर्क गर्दै आएको बयान दिएकी छिन्। प्रहरीले जुलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।






