काठमाडौं । सांगीतिक कार्यक्रमको लागि अमेरिका उडेकी गायिका आस्था राउत अमेरिकी अध्यागमनबाटै फिर्ता हुनुपरेको छ । गायिका राउतलाई अमेरिकास्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको हो ।
अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा अमेरिका उडेकी उनलाई पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने भन्दै अध्यागमनले फर्काएको बुझ्नमा आएको छ । डिसेम्बर १० मा आफू त्यहाँ पुग्दा अध्यागमन अधिकारीले उक्त कारण देखाउँदै रोकेको उनले बताइन् ।
पर्फमेन्स भिसा अर्थात् पीथ्रीमै पुनः अमेरिका आउन अध्यागमन अधिकारीले उनलाई सुझाएको बताइएको छ ।साथै, आस्थाले आफू सांगीतिक कार्यक्रममा सहभागी हुन नपाएपछि दुःख व्यक्त गर्दै फेसबुकमा लेखेकी छन् ।
उनले लेखेकी छन्, ‘नमस्कार, यही आउँदो अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा अमेरिकाको लानकास्टरमा आयोजना हुन गईरहेको युनाइटेड होम केयर सर्भिस एलएलसीद्वारा आयोजित न्यु एयर म्युजिकल नाइट २०२३ समारोहमा एक कलाकारको हैसियतले पाएको निमन्त्रणालाई स्विकार गर्दै उक्त गन्तव्य स्थानमा जाने क्रममा आएको प्राविधिक समस्याको कारणले उक्त समारोहमा उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गर्दछु, साथै निर्धारित समयमै उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न हुनेछ भन्नेमा पूर्ण आशा गर्दै मेरो कारणले आयोजक वर्गमा पर्न गएको असुविधाप्रति गहिरो चिन्ता व्यक्त गर्दछु । समय र परिस्थितिले जुराएमा फेरि हाम्रो सांगीतिक मिलन हुनेमा पूर्ण विश्वास गर्दै आयोजकप्रति आभार प्रकट गर्दछु ।’
केही वर्षअघि गायिका राउत र नेपाल प्रहरीबीच विवाद भएर पछि आफैंले माफी मागेकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेकी प्रहरी जवान रमीता श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको भन्दै गायिका आस्थाले सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि उनी प्रहरी हिरासतमा समेत परेकी थिइन् ।
विमानस्थलको सीसीटीभीको फुटेज सार्वजनिक भएपछि त्यस घटनाले गायिका राउत बढी आलोचित हुन पुगेकी थिइन् । त्यसबेला उनले सामाजिक सञ्जालमा भिडियो बनाएर प्रहरी जवान रमीतालाई ‘डण्ठे’ भन्दै अभिव्यक्ति दिँदै पोष्ट गरेकी थिइन् । त्यसपछि झन् आस्था आलोचित भएकी थिइन् ।







