जनकपुरधाम,१६ साउन । कमला युवा सञ्जालद्वारा आयोजित कमला क्रीकेट लिग २०८२ को फाइनल खेलमा सल्हेस किङ्ग (लकड) टिमले सघरा बोल्टसलाई ३ विकेटले पराजित गर्दै उपाधि हाथ पारेको छ।
फाइनल खेलमा सघरा बोल्टसले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेपनि, टोलीले उल्लेखनीय प्रदर्शन गर्न सकेन। टिमका लागी अभिषेकले सर्वाधिक १५ रन बनाएपनि अन्य ब्याट्सम्यान खासै टिक्न सकेनन्। निर्धारित १७.५ ओभरमा टिम १२१ रनमै समेटिएको थियो।
१२२ रनको लक्ष्य पछ्याएको सल्हेस किङ्ग (लकड) ले १४.४ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पार गर्दै शानदार जित हात पारेको हो। विजेता टिमका कप्तान अशोकले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै ४६ रन बनाए भने धिरु पासवान र सरोज यादवले समान १८–१८ रनको योगदान दिए।
फाइनल खेलको म्यान अफ द म्याच उपाधि सल्हेस किङ्गका अभिषेक पासवानले प्राप्त गरे। उनले ४ ओभरमा २८ रन खर्चिएर ५ विकेट लिएर विपक्षी टिमको मध्य र निचला क्रम ध्वस्त पारेका थिए।
विजेता टिम सल्हेस किङ्ग (लकड) लाई कमला युवा सञ्जालले नगद रु २५,०००/-, मेडल, कप र प्रमाणपत्र प्रदान गरेको छ भने उपविजेता सघरा बोल्टसलाई रु १५,०००/-, मेडल, कप र प्रमाणपत्रले सम्मान गरिएको थियो।
नगरपालिकाका ९ वडाबाट १० टिम सहभागी भएको यस नगर स्तरीय लिगको फाइनल पुरस्कार वितरण समारोह कमला युवा सञ्जालका अध्यक्ष विमलेश यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।
समारोहमा संविधानसभा सदस्य श्री दिनेश प्रसाद ‘प्रसैला’ यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशेष अतिथिमा उपमेयर शिला मण्डल, युवा नेता विक्रम यादव, सत्यनारायण यादव, बिरेन्द्र यादवलगायत विभिन्न समाजसेवी, खेलप्रेमी युवा तथा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष विमलेश यादवले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाताहरु, खेलाडी, युवा साथी र दर्शकहरूलाई आभार व्यक्त गर्दै आगामी २०८३ सालमा अझ व्यवस्थित र भव्य लिगको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।






