काठमाडौँ श्रावण २३ :काठमाडौं बबरमहलस्थित पार्टी कार्यालयमा लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय बैठक सम्पन्न भएको छ। संघका अध्यक्ष कामरेन्द्र वर्माका अनुसार बैठकमा संघको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम, तयारी विधान र पार्टीको मुखपत्र ‘स्मारिका’ प्रकाशनसम्बन्धी विषयमा गम्भीर छलफल गरिएको हो।
अध्यक्ष वर्माले संघको भावी रणनीति र सांगठनिक संरचना थप प्रभावकारी बनाउने निर्णय बैठकबाट गरिएको जानकारी दिए। उनका अनुसार बैठकमा उठेका प्रस्तावहरू पार्टी अध्यक्षसँग छलफल गरी अगाडि बढाइनेछ। “संघ पत्रकारहरूको हकहितमा मात्र सीमित न रही लोकतान्त्रिक मूल्य र मान्यताका सशक्त पक्षधरका रूपमा प्रस्तुत हुने तयारीमा छ,” वर्माले बैठकपछि भने।
बैठकमा संघका केन्द्रीय सदस्य विजेता चौधरी, सुस्मिता लाल, संजिव कुमार झा, चन्द्रमोहन चौधरी, शिवम् मिश्रा, रानी पाल, मुकेश कुमार झा, सुरेन्द्र कुमार सिंह र सल्लाहकार अभिषेक अर्याल लगायतको उपस्थिति रहेको थियो।
बैठकपछि संघको प्रतिनिधिमण्डलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव मनिष मिश्रसँग भेट गरी संघका गतिविधिबारे जानकारी गराएको छ।
संघले चाँडै नै राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम आयोजना गर्ने तयारी गरेको समेत जनाएको छ।






