जनमत पार्टीमा ‘आन्तरिक शुद्धिकरण अभियान’ सुरु — राष्ट्रिय उपाध्यक्ष डा. जय कान्त राउत

२०८२ श्रावण २६, सोमबार ११:५७

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउतले पार्टीभित्र ‘आन्तरिक शुद्धिकरण अभियान’ सुरु गरिएको जानकारी दिनुभयो। उहाँले स्पष्ट योजना अनुसार संगठनलाई टोल स्तरसम्म विस्तार गरी आगामी निर्वाचनमा मधेश प्रदेशमा पहिलो शक्ति बन्ने र कोशी, लुम्बिनी तथा सुदूरपश्चिमसहित संघ स्तरमा निर्णायक भूमिका निर्वाह गर्ने लक्ष्य रहेको बताउनुभयो।

डा. राउतले वीर स्वराजीहरूको बलिदान र कठिन संघर्षबाट जन्मिएको पार्टीको मूल आत्मा जनताको सेवा, सत्य, पारदर्शिता र उच्च नैतिक मूल्य रहेको उल्लेख गर्नुभयो। उहाँले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई पार्टीको आदर्श र ब्रान्ड नेता मान्दै वहाँबिना जनमत पार्टीको परिकल्पना असंभव हुने पनि बताउनुभयो।

उहाँले यही स्वच्छ छवि, त्याग र दूरदर्शी नेतृत्वका कारण जनमतले छोटो समयमा ऐतिहासिक सफलता हासिल गरेको र त्यसले मधेशविरोधी तत्वहरूलाई त्रसित बनाएको दावी गर्नुभयो। “पार्टी र नेतृत्वविरुद्धका सबै खाले षड्यन्त्रको डटेर सामना गर्न हामी सक्षम छौं र यस्ता षड्यन्त्रकारीलाई दण्डित गर्न पछि पर्दैनौं,” उहाँले चेतावनी दिनुभयो।

डा. राउतका अनुसार आन्तरिक शुद्धिकरण अभियानले दोषारोपण मात्र होइन, सुधार र एकताको पुनःस्थापना गर्ने उद्देश्य राख्छ। “पार्टीलाई अझ शुद्ध, अनुशासित र जनविश्वासी बनाउने हाम्रो साझा संकल्प हो,” उहाँले जोड दिनुभयो।

उहाँले जति आधारहीन लाञ्छना लगाइए पनि डा. सीके राउतको लोकप्रियतामा कमी नआएको र दिनप्रतिदिन बढ्दै गएको दाबी गर्दै नेताकार्यकर्तालाई घृणा–द्वेष फैलाउने, अनुशासनहीन गतिविधिमा संलग्न हुने तत्वबाट सचेत रहन र आ–आफ्नो पदीय मर्यादामा बसेर इमान्दारीपूर्वक संगठन विस्तारमा लाग्न आग्रह गर्नुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?