जनकपुरधाम श्रावण २७ :नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले जनकपुरमा लिजमा लिएको जग्गा बार एसोसिएसन नेपाल, जनकपुरधामले अतिक्रमण गर्न खोजेपछि दुई पक्षबीच झडप भएको छ। यो झडपमा केही पत्रकार घाइते भएका छन्।
महासंघले गुठी संस्थानसँग जनकपुरको स्वर्गद्वारी नजिकै रहेको चार कठ्ठा जग्गा वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँ बुझाउने गरी २० वर्षका लागि लिजमा लिएको थियो। तर, बार एसोसिएसनका पदाधिकारी र वकिलहरूले उक्त जग्गामा पार्किङ स्थल बनाउने भन्दै अतिक्रमण गर्न खोजेपछि विवाद सुरु भएको हो।
महासंघका प्रदेश अध्यक्ष श्यामप्रसाद बञ्जाराका अनुसार, महासंघले सबै कानुनी प्रक्रिया पूरा गरी साउन १९ गते गुठी संस्थानसँग जग्गाको सम्झौता गरेको थियो। गुठीले जेठ ७ गते गोरखापत्रमा जग्गाको सूचना प्रकाशित गरेपछि विभिन्न संघसंस्थाले प्रस्ताव पेस गरेका थिए। महासंघको प्रस्ताव स्वीकृत भएपछि सम्झौता भएको हो।
यता, बार एसोसिएसनले भने साउन २० गते एक सूचना जारी गर्दै साउन २१ गतेदेखि उक्त जग्गामा कानुन व्यवसायीहरूलाई गाडी पार्किङ गर्न भनेको थियो। यसै क्रममा अतिक्रमणको प्रयास भएपछि झडप भएको हो।
अध्यक्ष बञ्जाराले बारले पूर्वाग्रही ढंगले महासंघको गतिशीलतामा अवरोध पुर्याउन खोजेको आरोप लगाएका छन्। उनले बारसँग यस विषयमा मौखिक सहमति भएको भए पनि अदालतमा रिट दायर गरिएको बताए। बञ्जाराका अनुसार, अदालतले भदौ ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
“कानुनी रूपमा प्राप्त गरिसकेको जग्गालाई आफ्नो भन्दै किचलो सिर्जना गर्नु आपत्तिजनक छ,” उनले भने। पत्रकार महासंघले सोही जग्गामा प्रादेशिक भवन निर्माण गर्ने योजना बनाएको र अदालतले न्याय दिनेमा आफूहरू आशावादी रहेको पनि उनले बताए।






