जलेश्वर । महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा बिहीबार पाँच जना प्रहरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार झडपमा नेपाल प्रहरीका दुई, सशस्त्र प्रहरीका दुई र एक जना रामगोपालपुर नगरपालिकाका नगर प्रहरी घाइते भएका छन् ।
रामगोपालपुर नगरपालिका–५ बस्ने डा. पंकज चौधरीले पत्नी नेहा चौधरीलाई घरभित्र पस्न नदिएपछि उत्पन्न भएको विवादले उग्ररुप लिँदै आन्दोलनमा परिणत भएपछि रामगोपालपुरमा प्रहरी र स्थानीयबीच झडप भएको हो ।
औरही नपा–१ माइती भएकी नेहाले पतिविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दा दिएकोमा मंसिर २६ गते महोत्तरी जिल्ला अदालतले संरक्षणात्मक आदेश जारी गर्दै नेहालाई घरभित्र प्रवेश गर्न दिन भनेपछि नेहा अदालतको पत्र लिएर पतिको घर रामगोपालपुर–५ मा पुगेपछि त्यहाँ ताल्चा लागेको थियो ।
ताल्चा लागेको घर अगाडि नै नेहाले धर्ना बसेपछि स्थानीयवासीले नेहालाई घरभित्र प्रवेश गराउनुपर्ने माग राख्दै आन्दोलन गर्न थालेका छन् ।






