जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले पार्टीको गौरव, एकता र संघर्षको मूल्य कमजोर पार्ने, नेताकार्यकर्ताको मनोबल गिराउने वा संगठनको अहित गर्ने कुनै पनि प्रकारका सार्वजनिक अभिव्यक्ति, टिप्पणी वा सामाजिक सञ्जाल पोस्ट कदापि स्वीकार्य नहुने चेतावनी दिएका छन्।
पछिल्लो समय पार्टीभित्र अनुशासन र आचारसंहिताप्रति उदासीनता देखिएको भन्दै उनले यस्ता गतिविधिले संगठनको छवि मात्र होइन, राजनीतिक यात्रालाई समेत कमजोर पार्ने र प्रतिपक्षीलाई लाभ पुर्याउने बताएका छन्।
डा. राउतका अनुसार असन्तुष्टि वा सुझावलाई पार्टीको आधिकारिक बैठक वा संयन्त्रमार्फत प्रस्तुत गर्नुपर्ने र अल्पमतले बहुमतको निर्णयलाई सम्मानपूर्वक स्वीकार्नु संगठनात्मक अनुशासनको आधारभूत सिद्धान्त हो।
उनले अनुशासन उल्लङ्घन गर्ने व्यक्ति वा समूहमाथि आवश्यक अनुसार कठोर कारबाही गरिने चेतावनी दिँदै, पार्टीको आधिकारिक धारणा भन्दा बाहिर गई व्यक्तिगत मनोभाव, असन्तुष्टि वा विवादलाई सार्वजनिक मञ्च, सामाजिक सञ्जाल, मिडिया वा अन्य माध्यममार्फत प्रकट गर्नु संगठनात्मक अनुशासनको गम्भीर उल्लङ्घन मानिने स्पष्ट पारे।






