मधेशका इँटा उद्योगलाई वातावरणमैत्री बनाउन मुख्यमन्त्रीको आग्रह

२०८२ भाद्र ४, बुधबार १९:०४

जनकपुरधाम भाद्र ४ – मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशमा बढ्दो जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि इँटा उद्योगहरूलाई कम प्रदूषण हुने प्रविधि अपनाउन आग्रह गर्नुभएको छ। नेपाल इँटा उद्योग महासङ्घ, मधेश प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले यो वर्ष कम वर्षा र उच्च तापक्रमको कारण जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभाव स्पष्ट देखिएको बताउनुभयो।

मुख्यमन्त्री सिंहले इँटा उद्योगहरूमा देखिएको दक्ष श्रमिकको अभावलाई सम्बोधन गर्न स्वदेशमै तालिम र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न मधेश प्रदेशको घरेलु तथा साना उद्योग विभागलाई निर्देशन दिनुभयो। उहाँले अहिले इँटा उद्योगमा कार्यरत अधिकांश मजदुर भारतीय रहेकाले देशको ठूलो पूँजी बाहिरिएको भन्दै नेपाली श्रमिकलाई नै दक्ष बनाउनुपर्नेमा जोड दिनुभयो।

कर र आत्मनिर्भरता

मधेश प्रदेशलाई आत्मनिर्भर बनाउनका लागि प्रदेश सरकारले थोरै कर लिन बाध्य भएको मुख्यमन्त्री सिंहले बताउनुभयो। उहाँले इँटा उद्योगको विकास र उत्पादनको खपत बढाउन प्रदेश सरकार सहयोग गर्न तयार रहेको पनि बताउनुभयो।

यसैगरी, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले पनि वातावरण प्रदूषण कम गर्ने उपाय अपनाउन उद्योगीहरूलाई आग्रह गर्नुभयो। उहाँले व्यवसायीलाई बढी करको बोझ दिँदा त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने उल्लेख गर्नुभयो।

नेपाल इँटा उद्योग महासङ्घ, मधेश प्रदेशका अध्यक्ष विजय कुमार साहका अनुसार नेपालमा दर्ता भएका १,३३९ इँटा उद्योगमध्ये ७०० वटा मधेश प्रदेशमा छन्। तीमध्ये ३२० वटा अहिले सञ्चालनमा छन्। यी उद्योगहरूले करिब ३ लाख मिस्त्री तथा मजदुरलाई रोजगारी दिएको र त्यसको ९० प्रतिशत भारतीय नागरिक भएको उहाँले बताउनुभयो। दक्ष नेपाली मजदुरको अभावका कारण भारतीय मजदुरले अवसर पाएको महासङ्घले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?