मधेशको वन र वातावरण क्षेत्रमा नयाँ इतिहास कोर्ने सचिव घिमिरेलाई सम्मानपूर्वक विदाइ

२०८२ भाद्र ९, सोमबार ००:०५

जनकपुरधाम , भदौ ८ : मधेश प्रदेश सरकार अन्तर्गतको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेलाई आज एक भव्य विदाइ समारोहका बीच सम्मानपूर्वक विदाइ गरिएको छ।

कार्यक्रममा प्रदेशका वन तथा वातावरण मन्त्री माननीय सञ्जय कुमार यादव, मन्त्रालयका महाशाखा प्रमुख, शाखा प्रमुख, प्रदेश वन निर्देशनालयका निर्देशक, डिभिजन वन कार्यालयका प्रमुख, स्थानीय तहका वन प्राविधिक, मन्त्रालयका कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

२२ महिनासम्म मधेश प्रदेश सरकार अन्तर्गत वन तथा वातावरण मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्दै आउनु भएका सचिव घिमिरेले आफ्नो कार्यकालमा वन संरक्षण, वातावरणीय व्यवस्थापन, जैविक विविधता संरक्षण, जलाधार व्यवस्थापन र दिगो विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएको भन्दै विभिन्न वक्ताहरूले प्रशंसा व्यक्त गरे।

कार्यक्रममा मन्त्री सञ्जय कुमार यादवले सचिव घिमिरेको कार्यसम्पादन, सरल स्वभाव र दूरदर्शी नेतृत्वले मन्त्रालयलाई नयाँ दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी कार्यकालमा पनि नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयमा उहाँले अझ उत्कृष्ट कार्य गर्नुहुने विश्वास व्यक्त गर्नुभयो।

सचिव घिमिरेले मधेश प्रदेशमा वन तथा वातावरणीय क्षेत्रको विकासका लागि पाएको साथ, सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै भन्नुभयो,
मधेश प्रदेशमा काम गर्ने अवसर पाउनु मेरा लागि सम्मानको विषय हो। यस प्रदेशको वन, वातावरण र प्राकृतिक स्रोत व्यवस्थापनमा उल्लेखनीय प्रगति गर्न हामी सबै मिलेर काम गरेका छौँ। यो यात्रा मलाई सदैव स्मरणीय रहनेछ।

कार्यक्रममा मन्त्रालयको FFPP Madhesh टीम, निर्देशनालयका कर्मचारीहरू, डिभिजन वन कार्यालयका प्रमुखहरू, स्थानीय तहका वन प्राविधिक र सरोकारवालाहरूलाई पनि विशेष धन्यवाद दिइएको थियो।

सोही अवसरमा सेवा निवृत्त हुनु भएका बरिष्ठ भू तथा जलाधार व्यवस्थापन अधिकृत (दशौं तह) विपिन कुमार झा र सहायक शाखा अधिकृत (छैठौं तह) राम बल्लभ मिश्रलाई पनि दिगो र सुखमय सेवा निवृत्त जीवनको शुभकामना प्रदान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सचिव उद्धव बहादुर घिमिरेलाई भावपूर्ण बधाई, हार्दिक धन्यवाद र आगामी जिम्मेवारीका लागि शुभकामना दिँदै समारोह सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?