बर्दिबासमा तीज विशेष कार्यक्रम : बालविवाह अन्त्यका लागि युवाको सशक्त अभियान

२०८२ भाद्र १०, मंगलवार २२:११

बर्दिबास,१० भदौ । तिजको अवसरलाई सामाजिक चेतना जगाउने माध्यमका रूपमा उपयोग गर्दै बर्दिबासमा बालविवाह अन्त्यका लागि विशेष अभियानमूलक कार्यक्रम सम्पन्न भएको छ । युथ फोर चेन्ज को आयोजनामा, सेभ द चिल्ड्रेन, सिफ्ट, लियो कल्व अफ बर्दिबास र दीपक पार्टी प्यालेसको समन्वय तथा  सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।

“नै कर्बै बालविवाह, नै त होतै हमर जीवन तबाह” भन्ने मूल नाराका साथ आयोजित यस अभियानमा बालविवाह विरुद्ध चित्रकला तथा सन्देश लेखन कार्यक्रम सञ्चालन गरियो । कार्यक्रममा सहभागी व्रतालु महिला, बालबालिका, किशोर–किशोरी र युवाहरूले साडीमा आफ्ना विचार तथा संदेशहरू लेख्दै बालविवाह न्यूनीकरणमा योगदान पुर्‍याए ।

यस अवसरमा माननीय प्रदेश सांसद शारदा देवी थापा, बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद क्षेत्री, उपमेयर तारा देवी, उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष विष्णु खडका लगायतका जनप्रतिनिधि, युवा अभियन्ता र बुद्धिजीवीहरूको विशेष उपस्थिति थियो । कार्यक्रमलाई थप प्रभावकारी बनाउन वहाँहरूले पनि साडीमा आफ्ना विचार लेख्दै बालविवाह अन्त्यका लागि दृढ प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरूले तीज पर्व केवल धार्मिक उत्सव मात्र नभई सामाजिक परिवर्तन ल्याउने अवसर बनेको उल्लेख गर्दै बालविवाह जस्तो हानिकारक प्रथालाई अन्त्य गर्न सबैले मिलेर पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

साडीमा लेखिएका सन्देशहरूमा “बालिका दुलही होइन, भविष्य निर्माणकर्ती हुन्”, “बालविवाह अन्त्य हाम्रो साझा जिम्मेवारी”, “शिक्षा नै छ बालविवाह रोक्ने मूल आधार”” say no to child marriage “, “stop child early and forced marriage”  लगायतका सारगर्भित अभिव्यक्तिहरू समावेश थिए ।

कार्यक्रमले समुदायमा बालविवाहविरुद्धको जनचेतना अभिवृद्धि गर्न र तीजलाई सामाजिक रूपान्तरणको पर्वका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान गरेको आयोजक युथ फोर चेन्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?