काठमाडौंमा जारी उखु किसान आन्दोलनप्रति जनमत पार्टीको समर्थन

२०८२ भाद्र ११, बुधबार १४:००

काठमाडौं,११ भदौ:उखु किसानहरूले अनुदान कटौती र बक्यौता भुक्तानीको मागसहित काठमाडौंमा गरिरहेको आन्दोलनप्रति जनमत पार्टीले पूर्ण समर्थन जनाउँदै एक्यवद्धता प्रकट गरेको छ।

सोमबार माइतीघर मण्डलास्थित धर्नास्थलमा पुगेर पार्टीका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख डा. जयकान्त राउत र प्रवक्ता डा. शरद सिंह यादवले किसानहरूसँग ऐक्यबद्धता व्यक्त गरेका हुन्। उनीहरूले सरकारलाई किसानका जायज मागहरू तत्काल सम्बोधन गर्न आग्रह गरे।

गत वर्ष सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय गरेको भए पनि यस वर्ष अनुदान घटाएर ३५ रुपैयाँ मात्र दिने निर्णय गरेपछि किसानहरू आक्रोशित बनेका छन्। सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी लगायतका जिल्लाबाट आएका किसानहरू काठमाडौंमा निरन्तर धर्ना र प्रदर्शन गरिरहेका छन्।

जनमत पार्टीका नेताहरूले किसानहरूको मागलाई देशको कृषि, किसान तथा ग्रामीण अर्थतन्त्रको हितसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको भन्दै, सरकारले समयमै समाधान नगरे आन्दोलन अझ व्यापक बन्न सक्ने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?