राजविराज,१५ भदौ: जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले मधेश स्वराज आन्दोलनलाई मधेशी जनताको अस्तित्व, अधिकार र पहिचानसँग जोडिएको ऐतिहासिक लडाइँको रूपमा वर्णन गरेका छन्।
स्वराज आन्दोलनका प्रथम वीर शहीद राम मनोहर यादवज्यूको आठौँ पुण्यतिथि अवसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै डा. राउतले भने,मधेश स्वराज आन्दोलन लामो समयको उपेक्षा, विभेद, तिरस्कार र संघर्षको परिणाम हो। यो केवल राजनीतिक आन्दोलन मात्र होइन, मधेशी जनताको स्वाभिमान र स्वशासनको लागि भएको ऐतिहासिक अभियान हो।
डा. राउतका अनुसार नेपालको राजनीतिक संरचनामा मधेश दीर्घकालसम्म उपेक्षित रह्यो। नागरिकता,भाषा,शिक्षा,रोजगारी, सत्ता संरचना र समान अधिकारका सवालमा मधेशी जनताले निरन्तर विभेद सहनुपरेको बताउँदै उनले भने,विगतमा विभिन्न आन्दोलन भए पनि ती सबै अधूरा रहे। मधेशी जनतालाई आफ्नो पहिचान,अधिकार र स्वाभिमानका लागि अझ संगठित रूपमा संघर्ष गर्न आवश्यक थियो।
यस्तै,उनले जनमत पार्टीको उदय स्वराज आन्दोलनकै उपलब्धि भएको उल्लेख गर्दै भने,डा. सीके राउतको नेतृत्वमा सुरु भएको मधेश स्वराज आन्दोलनले मधेशी जनतालाई आफ्नो भूमि,संस्कृति,भाषा,अधिकार र पहिचानको रक्षा गर्न स्वशासन (Self-rule) को विचार अघि सारेको हो। अहिले यो आन्दोलन संगठित राजनीतिक रूपान्तरणको चरणमा प्रवेश गरिसकेको छ, र जनमत पार्टीले संघीयता, स्वशासन र समान अधिकारका सवाललाई संस्थागत रूपमा अघि बढाइरहेको छ।
स्वराज आन्दोलनका प्रथम वीर शहीद राम मनोहर यादवज्यूको सम्झनामा जनमत पार्टीले आज देशभरका आफ्ना वडा समिति, जिल्ला समिति र केन्द्रीय तहसम्म भव्य श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न परिपत्र जारी गरेको छ।
डा.राउतले मधेशी जनतालाई एकजुट भई आफ्ना अधिकार, स्वाभिमान र पहिचानको संरक्षणका लागि दृढ रहन आह्वान गर्दै भने,मधेश स्वराज आन्दोलनले मधेशी जनताको आत्मसम्मानको नयाँ इतिहास लेखिरहेको छ। यो हाम्रो पहिचान,अधिकार र भविष्यको लडाइँ हो,जसलाई हामीले सफलतापूर्वक संस्थागत गर्दैछौं।






