राजविराज ,१८ भदौ। जनमत पार्टीले संगठन सुदृढीकरण, कार्यदक्षता वृद्धि र आन्तरिक संरचनालाई अझ सबल बनाउन राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार २०८२ भदौ ३० गतेदेखि विभिन्न प्रदेश र जिल्लामा चरणबद्ध रूपमा आयोजना हुने यस कार्यक्रममा राष्ट्रिय परिषद्का अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतको प्रमुख आतिथ्यता रहने जनाइएको छ।
यस कार्यक्रममा राष्ट्रिय परिषद्का सदस्य, प्रदेश सदस्य, जिल्ला इञ्चार्ज,पालिका तथा वडा अध्यक्ष र सचिवको उपस्थिति रहनेछ।
जनमत पार्टीका अनुसार,यस प्रशिक्षणमार्फत संगठनात्मक दक्षता,राजनीतिक दृष्टिकोण,नीतिगत स्पष्टता र कार्ययोजना निर्माणमा महत्वपूर्ण योगदान पुग्नेछ।
कार्यक्रमका मुख्य उद्देश्यहरू :
• संगठनात्मक संरचनालाई सबल र प्रभावकारी बनाउने।
• पार्टी नीतिहरू स्पष्ट गर्दै आगामी रणनीति तय गर्ने।
• कार्यकर्तालाई आवश्यक सीप,नेतृत्व क्षमता र राजनीतिक दृष्टिकोणमा सबल बनाउने।
• प्रदेश र जिल्ला स्तरमा संगठनात्मक समन्वयलाई अझ मजबुत बनाउने।
जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरतसिंह यादवका अनुसार यस विशेष प्रशिक्षण कार्यक्रमले संगठन सुदृढीकरणमा नयाँ ऊर्जा भर्नेछ र कार्यकर्तामा उत्साह जगाउँदै पार्टीलाई अझ सबल बनाउनेछ।






