राजविराज, १ असोज : जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले नेपाल सरकारले घोषणा गरेको जेन–जी विद्रोहका शहीदहरूप्रतिको राष्ट्रिय शोक दिवसका अवसरमा देशभरका युवाको साहस, समर्पण र बलिदानलाई उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
डा. राउतले शहीद परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उहाँले जेन–जी आन्दोलनलाई “नयाँ पुस्ताको चेतना र परिवर्तनको अभूतपूर्व जागरण” भन्दै सबल र सफल राष्ट्र निर्माणको यात्रामा यो आन्दोलनको योगदान सधैं स्मरणीय रहने स्पष्ट पार्नुभयो।
उनका अनुसार लामो समयदेखि सत्ता र शक्तिमा बसेका परम्परागत दल र नेताहरूले जनताको आकांक्षा पूरा नगरेका कारण युवाहरूको असन्तोष स्वाभाविक बनेको छ। भ्रष्टाचार, स्वार्थी राजनीति र गुटबन्दीको जालोले थला परेको नेपाली राजनीतिलाई जेन–जी विद्रोहले हल्लाइदिएको बताउँदै डा. राउतले भने, “यो आन्दोलनले पुराना दल र नेताहरूमाथि पारदर्शिता, जवाफदेहीता र युवामैत्री नीति ल्याउन ऐतिहासिक दबाब सिर्जना गरेको छ।”
डा. राउतले शान्ति, सहअस्तित्व र राष्ट्रिय एकताको भावना कायम राख्दै शहीदहरूले देखाएको बाटो अनुसरण गर्न सम्पूर्ण नेपाली जनतालाई आह्वान गरे। उहाँका अनुसार जेन–जी पुस्ताको सडक जागरणले राजनीतिक दलहरूलाई आत्मसमीक्षा र संरचनात्मक सुधारतर्फ उन्मुख गराएको छ, जसले नेपाललाई भविष्यमा सबल, पारदर्शी र जनउत्तरदायी राज्यको आधार तयार गर्नेछ।






