मोर्चाका सबै घटक मिलेर अघि बढनुको विकल्प छैन : डा. जयकान्त राउत

२०८२ मंसिर ६, शनिबार २१:२७

चन्दन रजक राजविराज। मधेस–केन्द्रित सात दलहरूको सहभागितामा बनेको संघीय लोकतान्त्रिक मोर्चाले फागुन २१ गते हुने निर्वाचनमा सबै मिलेर जाने सर्वसम्मत निर्णय गरेको छ। जनमत पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले मोर्चाका सबै घटक एकढंगले अघि बढ्नु नै मधेसको हित, अधिकार र प्रगतिका लागि सबैभन्दा सकारात्मक र प्रभावकारी विकल्प भएको बताए।

शनिबार बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यालयमा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले आगामी निर्वाचनलाई स्वच्छ शान्तिपूर्ण,धाँधलीरहित र भयरहित बनाउन राज्यले ठोस कदम चाल्नुपर्ने माग गरेको छ। बैठकले मोर्चाको साझा प्रतिबद्धता र जनताप्रति उत्तरदायित्वलाई अझ स्पष्ट रूपमा प्रस्तुत गरेको छ।

मोर्चामा जनमत पार्टी (डा. सीके राउत), जसपा नेपाल (उपेन्द्र यादव), लोसपा नेपाल (महन्थ ठाकुर), नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी), राष्ट्रिय मुक्ति पार्टी (राजेन्द्र महतो), जनता प्रगतिशील पार्टी (हृदयेश त्रिपाठी) र तमलोपा (वृषेशचन्द्र लाल) गरी सात दलको सहभागिता रहेको छ।

सातै दलको एकता मधेसमा सुशासन, समृद्धि र राजनीतिक स्थिरताको दिशामा महत्वपूर्ण मोड भएको मोर्चाका नेताहरूको विश्वास छ। संयुक्त अभियानमार्फत मधेसको आवाजलाई सरकारले गम्भीरतापूर्वक सुन्ने र जनताको अपेक्षाअनुसार नतिजा दिने वातावरण निर्माण हुने अपेक्षा व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?