जनमत पार्टी आउँदो निर्वाचनबाट मधेशमा पहिलो पार्टी बन्नेः राष्ट्रिय उपाध्यक्ष डा. राउत

२०८२ मंसिर २८, आईतवार ०६:४६

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा.जयकान्त राउतले आउँदो निर्वाचनमा मधेश प्रदेशमा जनमत पार्टी पहिलो शक्ति बन्ने दृढ विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार पछिल्लो समय मधेशका आम नागरिकहरूको राजनीतिक रुझान परम्परागत तथा हालै खुलेका दलहरूभन्दा स्पष्ट रूपमा जनमत पार्टीतर्फ बढिरहेको छ।

डा.राउतले हालै बारा जिल्लामा सम्पन्न विभिन्न राजनीतिक कार्यक्रमहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै जनमत पार्टीप्रति जनसमर्थन तीव्र रूपमा बढिरहेको बताए। उहाँका अनुसार बारा जिल्लाको सिमरामा हालै आयोजित एक कार्यक्रममा सरकारका एक बहालवाला मन्त्रीको प्रमुख आतिथ्यतामा समेत न्यून उपस्थिति देखिनु र अर्कोतर्फ बाराकै कलैयामा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सी.के.राउतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्साहजनक तथा खचाखच सहभागिता हुनु जनमत पार्टीको बढ्दो लोकप्रियताको स्पष्ट प्रमाण हो।

उहाँले तेस्रो पक्षबाट गरिएका विभिन्न सर्वेक्षणहरूले पनि मधेशमा डा. सी.के. राउतप्रति आम जनताको आशा, भरोसा र विश्वास अझ सुदृढ बन्दै गएको देखाएको जानकारी दिनुभयो। जनमत पार्टी कुनै अन्य दलबाट टुटफुट भएर बनेको पार्टी नभई विशुद्ध रूपमा मधेश र मधेशीका मुद्दामा आधारित, डा. सी.के. राउतको वैज्ञानिक सोच र दीर्घकालीन भिजनबाट निर्माण भएको अर्गानिक पार्टी भएको उहाँको भनाइ छ।

डा. राउतले मधेश र मधेशीको मुद्दासँग सम्झौता गर्ने तथा व्यक्तिगत स्वार्थका कारण पार्टीबाट अलग भएका केही व्यक्तिहरू आफैं राजनीतिक रूपमा कमजोर बन्दै जाने दाबी गर्दै यस्ता भ्रम सिर्जना गर्ने तत्वहरूबाट सचेत रहन सबै नेता, कार्यकर्ता तथा आम नागरिकलाई अपिल गर्नुभयो। उहाँले जनमत पार्टी नै मधेशको वास्तविक आवाज र भविष्यको भरोसायोग्य राजनीतिक शक्ति भएको स्पष्ट पार्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?