जनकपुरधाम फालगुन १५ : सिरहाको गोलबजार नगरपालिका–२ गुरुधामा ट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर शुक्रबार बिहान ज्यान गएको छ। ट्रिपरको पछाडिको भाग हाइड्रोलिकमार्फत उठाउने क्रममा माथि रहेको ११ हजार भोल्टको विद्युत् तारमा ठोक्किँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।
करेन्ट लागेपछि गाडीको केही भागमा आगलागीसमेत भएको थियो। करेन्ट लागेर गाडीबाट तल खसेका साहलाई तत्काल उपचारका लागि स्थानीय अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिएको छ।
मृतकको शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल, लहान पठाइएको छ।






