काठमाडौं चैत्र ५ — गगन थापा ले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्। निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेपछि नैतिक जिम्मेवारी लिँदै उनले पदबाट अलग हुने निर्णय गरेका हुन्।
राजीनामा पत्रमा थापाले आफ्नो निर्णयलाई “पराजित मानसिकताको उपज नभई लोकतान्त्रिक संस्कारअनुसार परिणामको जिम्मेवारी लिनुपर्ने नेतृत्वको कर्तव्य” भएको उल्लेख गरेका छन्। उनले नेतृत्वमा बसेर आएको परिणामको जिम्मेवारी स्वीकार गर्नु नै लोकतन्त्रप्रतिको उत्तरदायित्व भएको स्पष्ट पारेका छन्।
उनले भनेका छन्, “आज मैले पार्टीको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको हुँ, तर पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन।” साथै आगामी दिनमा देशभर पुगेर पार्टीका नेता–कार्यकर्ता र आम नागरिकसँग संवाद गर्ने, सुझाव संकलन गर्ने र पार्टी सुदृढीकरणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
थापाले आफूलाई प्राप्त जनसमर्थन र विश्वासलाई अझ गहिरो बनाउने लक्ष्यका साथ अघि बढ्ने पनि बताएका छन्। “ती सन्देशहरू केवल समर्थन मात्र होइनन्, ती भविष्यप्रतिको अपेक्षा र विश्वासका प्रतीक हुन्,” उनले लेखेका छन्।
उनको राजीनामालाई पार्टीभित्र जिम्मेवारी स्वीकार गर्ने संस्कृतिको उदाहरणका रूपमा पनि हेरिएको छ। अब पार्टीभित्र नेतृत्व पुनर्संरचना र आगामी रणनीतिबारे छलफल तीव्र हुने अपेक्षा गरिएको छ।






