जनकपुरधाम । मधेस प्रदेशका सरकारी कार्यालयहरूमा लामो समयदेखि मौलाउँदै आएको बिचौलिया गतिविधिमाथि प्रहरीले कडा कदम चालेको छ। सेवाग्राहीलाई प्रभावमा पार्दै अतिरिक्त रकम असुल्ने र काम छिटो गराइदिने बहानामा अनियमितता गर्दै आएका ३३ जनालाई प्रहरीले एकैपटक नियन्त्रणमा लिएको हो।
मधेस प्रदेश प्रहरी कार्यालय ले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लाका मालपोत, यातायात तथा अन्य सरकारी कार्यालयहरूबाट उनीहरू पक्राउ परेका हुन्। प्रारम्भिक अनुसन्धानमा उनीहरूले सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्दै पैसा असुल्ने र सरकारी प्रक्रियामा अवरोध सिर्जना गर्ने गरेको खुलेको छ।
प्रहरीका अनुसार वीरगन्ज स्थित यातायात व्यवस्था कार्यालयबाट ४ जना र मालपोत कार्यालयबाट ३ जना पक्राउ परेका छन्। त्यसैगरी गौर र चन्द्रपुरका मालपोत कार्यालयबाट क्रमशः ५ र २ जना नियन्त्रणमा लिइएका छन्।
यस्तै मलंगवा ट्रायल सेन्टर र मालपोत कार्यालयबाट ११ जना तथा धनुषा र सप्तरीका विभिन्न कार्यालयबाट थप ८ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका सहायक प्रवक्ता मानबहादुर राई ले पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। साथै, उनले बिचौलियाको प्रलोभनमा नपर्न सर्वसाधारणलाई आग्रह गर्दै यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न अनुरोध गरेका छन्।
उता, सरकारको बिचौलिया हटाउने अभियान तीव्र बनेसँगै मालपोत तथा नापी कार्यालयसँग सम्बन्धित लेखापढी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आफूहरू वैधानिक रूपमा इजाजतप्राप्त पेशेवर भएको दाबी गर्दै कामकाज ठप्प पार्ने चेतावनी दिएका छन्।






