सिरहा, वैशाख १ (आज) । नयाँ वर्ष २०८३ को अवसरमा आज सिरहाको लहानस्थित ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा भव्य मेला लागेको छ। हरेक वर्ष नयाँ वर्षकै दिन मात्र फुल्ने विश्वास गरिएको सुनाखरी फूल अवलोकन गर्न बिहानैदेखि हजारौँ श्रद्धालुहरू नेपाल तथा भारतका विभिन्न स्थानबाट यहाँ पुगेका छन्।

मन्दिरअगाडि रहेको हारमको रुखमा माला आकारमा फुल्ने सुनाखरी फूल आज विशेष आकर्षणको केन्द्र बनेको छ। फूल पूर्ण रूपमा फक्रिन थालेसँगै श्रद्धालुहरू पूजा–अर्चनामा व्यस्त देखिन्छन्। सुनाखरीलाई लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ।

फूलबारी क्षेत्रमा बिहानैदेखि पूजाआजा, भजन–कीर्तन तथा दर्शन गर्नेहरूको घुइँचो लागेको छ। करिब नौ बिघा क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा हिजोदेखि नै आएका भक्तजनहरू पाल टाँगेर बसेका छन् भने आज मेला लागेसँगै भीड झन् बढेको छ।

यद्यपि, बढ्दो भीडसँगै पूर्वाधार अभावको समस्या पनि उस्तै देखिएको छ। विशेषगरी धर्मशाला तथा शौचालयको अभावका कारण भक्तजनहरूलाई असुविधा भइरहेको गुनासो सुनिएको छ।

१४ औँ शताब्दीका वीर लोकनायक राजा सलहेशको सम्झनामा आयोजना हुने यो मेला तराई क्षेत्रका पासवान समुदायका लागि विशेष आस्थाको केन्द्र मानिन्छ। यहाँ पूजा गर्दा सन्तान प्राप्ति तथा रोगबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ।






