भतिजा कर्मचारी, काका ठेकेदार—सडकमा देखियो नातावाद, गुणस्तरमाथि स्थानीयको प्रश्न

२०८३ बैशाख ९, बुधबार २१:४१

रौतहट : चन्द्रपुर नगरपालिका–७ नयाँबस्ती टोलमा निर्माणाधीन सडक तथा नाला निर्माणमा अनियमितता भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीयका अनुसार सडक डिभिजन कार्यालयमा कार्यरत ओभरसियर सुरेन्द्र शाहले आफन्तको नाममा निर्माण कम्पनी दर्ता गराई सोही कम्पनीमार्फत उक्त क्षेत्रमा सडक र नाला निर्माणको काम अघि बढाएका छन् । निर्माण कार्य सुरु भएदेखि नै गुणस्तरमा कमी देखिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सो वडामा रोड र नाला निर्माणका लागि एक करोड ८३ लाख ९९ हजार ३ सय ६६ रुपैयाँ ७८ पैसामा ठेक्का लगाएको थियो । श्री गायत्री मा -एस.के.एस.ए.जे.भी जनकपुर–१३ धनुषाले सकार गरेर काम सुरु गरेको थियो । सो निर्माण कम्पनीका सञ्चालक जोगेन्द्र साह उनै प्राबिधिक साहका आफ्नै काका हुन ।

स्थानीय उपेन्द्र यादबले सडक ग्रेडिङ नगरी हतारमा ढुंगा हाल्ने, नालामा कमजोर, कमसल सामग्री प्रयोग गर्ने जस्ता कार्य भएको आरोप लगाएका छन् । उनीहरूले गुणस्तरीय निर्माणको माग गर्दै काम रोक्न दबाब दिएका छन् । स्थानीयको विरोधपछि सम्बन्धित प्राविधिक दलबलसहित गाउँ पुगेको र त्यस क्रममा केही समय तनाव समेत उत्पन्न भएको स्थानीयले बताए ।

ठेक्का नम्बर आरडिसिएनपी-३३८०११६९४-०८२/८३–१० को उक्त ठेक्का सम्झौता २०८२–८–८ मा भएर २०८३–३–२० मा सम्पन्न गर्ने सम्झौता गरिको छ। हतारमा गरिएको गुणस्तरहिन कामले राज्यको करोडौं नोक्सान हुने र कमसल विकासले सास्ती खेप्नु परेको अर्का स्थानीय देबेन्द्र यादबले बताए ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सम्बन्धित प्राविधिकले आफू इन्जिनियर भएको उल्लेख गर्दै काममा अवरोध नगर्न चेतावनी दिएको देखिएको स्थानीयको भनाइ छ ।

स्थानीयले सरकारी कर्मचारी आफैं निर्माण कार्यमा संलग्न भई प्रश्न उठाउँदा उल्टै दबाब दिने कार्य अनुचित भएको बताएका छन् । उनीहरूले घटनाको छानबिन गरी गुणस्तरहीन निर्माण कार्य तत्काल रोक्न सम्बन्धित निकायसँग माग गरेका छन् । यता सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरूको संलग्नताबारे समेत आशंका गरिएको छ । सरकारी निकायसँग सम्बन्धित निर्माण कार्यमा पारदर्शिता र गुणस्तर कायम गर्न आवश्यक रहेको स्थानीय बिगु सहनीले बताए ।

स्रोत -अन्नपूर्ण पोस्ट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?