जनकपुरधाम : महोत्तरी जिल्लाको भंगहा नगरपालिका–२, सिंग्याही निवासी निजामती कर्मचारी तथा जन स्वास्थ्य निरीक्षक अभिषेक नारायण यादवले दाइजो बिना आदर्श विवाह गर्दै उदाहरण प्रस्तुत गरेका छन्। उनले सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–३, धनकौल निवासी अहेव पदमा कार्यरत नितु कुमारी यादवसँग यही वैशाख १७ गते मैथिली सामाजिक परम्परा अनुसार विवाह सम्पन्न गरेका हुन्।
दाइजोको दबाब र आर्थिक बोझका कारण मधेश क्षेत्रमा अझै पनि धेरै विवाह रोकिने वा विवादमा पर्ने अवस्था रहेको छ। यस्तो परिवेशमा अभिषेक र नितुको दाइजोमुक्त विवाहलाई समाजमा सकारात्मक परिवर्तनको सशक्त संकेतका रूपमा हेरिएको छ।
विवाह समारोहमा जन्तीलाई मैथिली परम्परा अनुसार आत्मीय स्वागत गरिएको थियो भने कार्यक्रम सरल, व्यवस्थित र मर्यादित ढंगले सम्पन्न भएको सहभागीहरूले बताएका छन्।
नेपालको कानुनले दाइजो लिन र दिन दुवैलाई दण्डनीय अपराध मानेको छ। विवाह सम्बन्धी कसुर अन्तर्गत दाइजोको माग गर्ने वा लेनदेन गर्नेलाई जेल सजाय र जरिवानाको व्यवस्था गरिएको छ। तर, कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा यो प्रथा लुकीछिपी अझै कायम नै छ।
यस्तो अवस्थालाई अन्त्य गर्न महिला सशक्तीकरण अपरिहार्य मानिन्छ। छोरीहरूलाई उच्च शिक्षा र सीप प्रदान गरी आत्मनिर्भर बनाउनु आवश्यक छ, जसले उनीहरूलाई आफ्नै निर्णय लिन सक्षम बनाउँछ। साथै, समाजमा चेतना अभिवृद्धि गर्दै दाइजोमुक्त विवाहलाई प्रोत्साहन गर्नु आजको प्रमुख आवश्यकता भएको सरोकारवालाहरूको भनाइ छ।






