प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो यो कार्यकालमा भाषण कम गर्ने बताएका छन्।
शनिबार चितवनमा नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोह उद्घाटन गर्दै उनले यो कार्यकालमा भाषण कम काम धेरै गर्ने बताएका हुन्।
उनले अहिले सुशासन र विकासको पक्षमा काम गर्दै नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे।
‘मैले यो पटक हरेक दिन देशको पक्षमा जनताको पक्षमा सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु,’ उनले भने, ‘मैले मेरो बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने भनेको छु। म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन। यो कार्यकालमा म भाषण कम र काम धेरै, जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको छु।’
‘जनताले विभिन्न क्षेत्रमा पाइराखेका सास्तीहरूबाट मुक्त गर्न इंगित गरेर मैले निर्णय गरेको छु,’ उनले भने,‘र जनतालाई कुनै पनि पिरमर्कामा पर्ने निर्णयलाई कठोर कदम चालेर जनता र राष्ट्रको पक्षमै जाने संकल्प लिएको छु।’






