गैरआवासीय मधेशी संघको अन्तर्राष्ट्रिय अध्यक्षमा ई. प्रमोद कुमार ठाकुर चयन

२०८३ असार ६, शनिबार ०९:०६

जनमत पार्टीको प्रवासी संगठन गैरआवासीय मधेशी संघ (एनआरएमए) को छैटौं अन्तर्राष्ट्रिय कार्यसमितिको अध्यक्षमा ई. प्रमोद कुमार ठाकुर चयन भएका छन्।

हालै सम्पन्न संघको अन्तर्राष्ट्रिय महाधिवेशन तथा संगठनात्मक प्रक्रियामार्फत ठाकुरको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति गठन गरिएको जनाइएको छ। नवगठित समितिमा विभिन्न देशमा बसोबास गर्दै आएका मधेशी समुदायका प्रतिनिधिहरूलाई समेटिएको छ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष, संगठन विभाग प्रमुख तथा महाधिवेशन आयोजक समितिका सदस्य डा. जयकान्त राउतले भर्चुअल जुममार्फत शपथ ग्रहण गराएका छन्। शपथ ग्रहण कार्यक्रममा उनले नवगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा डा. राउतले गैरआवासीय मधेशी संघले विश्वभर छरिएर रहेका मधेशी समुदायलाई एकताबद्ध गर्दै सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष ई. प्रमोद कुमार ठाकुरले संघलाई विश्वभर रहेका मधेशीहरूको साझा आवाज तथा सशक्त संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रवासमा रहेका मधेशीहरूको हकहित, पहिचान, सामाजिक एकता तथा मातृभूमिको विकासमा योगदान पुर्‍याउने कार्यलाई अझ प्रभावकारी बनाइने बताए।

संघको नवगठित कार्यसमितिले संगठन विस्तार, प्रवासी मधेशीहरूको अधिकार संरक्षण, मातृभूमिसँगको सम्बन्ध सुदृढीकरण तथा विभिन्न देशमा रहेका सदस्यहरूबीच समन्वय अभिवृद्धि गर्ने लक्ष्यसहित आगामी कार्ययोजना अघि बढाउने जनाएको छ।

संघका अनुसार गैरआवासीय मधेशी संघ हाल दुई दर्जनभन्दा बढी देशमा फैलिएको छ। यद्यपि, नवगठित समितिमा संगठनात्मक रूपमा सक्रिय रहेका कतार, संयुक्त अरब इमिरेट्स (दुबई), मलेसिया, साउदी अरब, कुवेत, मौरिसस, रुसलगायतका देशका प्रतिनिधिहरू समावेश छन्।

गैरआवासीय मधेशी संघको स्थापना सन् २०१० मा डा. सी.के. राउत द्वारा गरिएको हो। उनी संघका संस्थापक अध्यक्षसमेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?